जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् ।


ADVERTISEMENT


कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका साह १३ हजार ४६५ मत ल्याई विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शिवशंकर साह भन्दा ३,९३३ बढी मत ल्याएर विजयी भए । पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकाले कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजकुमारले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा उम्मेदवार तथा पुर्व मेयर जसपाका लालकिशोर साह चौथो स्थानमा रहँदै पराजित भए । गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए ।

उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए । २०७४ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट निवर्तमान मेयर लालकिशोर साह तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार बनेका हालका निर्वाचित मनोज साहलाई नै झन्डै ११ हजार मतान्तरले पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै जनकपुरधामको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले १० हजार ८८५ मत पाइन् । जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।