काठमाडौं – काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् ।


ADVERTISEMENT


निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा राजधानीबासीले समस्या भोग्दै आएका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय तह निर्वाचनमा जाँदा प्राय उम्मेदवारले निर्वाचित भए फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । नवनिर्वाचित मेयर बालेनको पनि फोहोर व्यवस्थापन गर्ने योजना थियो । उनी निर्वाचित भएको आजै निर्वाचन आयोगले घोषणा गरेको हो ।

उनले स्थानीयको गुनासो र मागहरु सुन्नुका साथै स्थानीयको माग सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापन गरेसम्म खादा माला नलगाउने पनि बताएका छन् । मेयर बालेन साहले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता पनि नदिने घोषणा गरेका छन्।

गत मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास सुरु भएको थियो । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ-जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।