काठमाडौं – एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपियाँ बराबरको म्युचुअल फण्ड बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नाम दिइएको यो म्युचुअल फण्ड प्रतिइकाई १० रुपियाँ अंकित दरको १० करोड इकाई बिक्री गर्न लागिएको हो ।


ADVERTISEMENT


यसरी बिक्री हुने म्युचुअल फण्डमध्ये एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


बन्दमुखी प्रकृतिको यो योजना अवधि ७ वर्षको रहेको छ । सात वर्षपछि यो योजना स्वतः परिपक्व हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अधिकारीहरुले बताए । यस म्युचुअल फण्ड योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र जारी भएका व्यक्ति) प्रचलित कानूनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरुः सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने छन् ।

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’मा इच्छुकले न्यूनतम एक सयदेखि एक करोड इकाईसम्म आवेदन दिन पाउने छन् । यस आईपीओमा छिटोमा जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभए आउँदो असार २ गतेसम्म आवेदन खुला गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले बताए ।

शेयर बजारको बारेमा राम्रो ज्ञान नभएको र व्यवस्थताका कारण बजारमा समय दिन नसक्ने लगानीकर्ताले पनि यो फण्डमा लगानी गर्न सक्ने उनले बताए ।

एनआईसी एशिया क्यापिटलको यो म्युचुअल फण्ड चौथो बन्दमुखी योजना हो । यो योजनाबाट उठेको अधिकांश रकम क्यापिटलले शेयर बजारमा लगानी गर्नेछ । कम्पनीका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेले कम्पनीले सूचीकृत कम्पनीमा लगानी गर्दा बजारको पुँजीकरण अनुसार सूचीकृत कम्पनीहरुलाई तीन समूह (स्मल क्याप, मिड क्याप तथा लाज क्याप)मा वर्गीकरण गर्ने, त्यसमध्ये जुन क्यापभित्र रहेका कम्पनीहरुले राम्रो प्रतिफल दिन सक्छ, सोहीअन्तर्गतका कम्पनीहरुमा लगानी गर्ने बताए ।

यो फण्डले कम्पनीहरुलाई विभिन्न वर्गमा वर्गीकरण गर्छ । प्रतिफलको आधारमा लगानी गर्ने यस फण्डले सूचीकृत कम्पनीहरुको ग्रोथलाई हेरेर भन्दा पनि उनीहरुको क्षमतालाई आधार मानेर लगानी गर्ने भएकोले अरुभन्दा यो म्युचुअल फण्ड फरक रहेको रायमाझीले बताए ।

उनले यसअघि बिक्री गरिएका म्युचुअल फण्ड कुनै ग्रोथमा, कुनै टप कम्पनीमा, कुनै भ्याल्यू, कुनै डेप्थ मार्केटमा लगानी गर्ने भन्ने थियो भन्दै तर अहिले कम्पनीहरुको क्षमतालाई समेत समेट्नेगरी फेक्जिबल भएर लगानी गर्ने बताए । रायमाझीले बजारमा भएको उतार चढावलाई विश्लेषण गरी आक्रामक रुपमा लगानी गर्ने योजना रहेको पनि बताए । उनले सानो सानो पुँजी भएका कम्पनीमा पनि उनीहरुको क्षमता हेरेर लगानी गर्ने बताए ।

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’मा बजारबाट उठेको रकम बजार ओरालो लागेको अर्थात घटेको बेलामा आक्रामकरुपमा लगानी गर्ने, बजार बढेको बेलामा कन्जरभेटिभ भएर लगानी गर्ने कम्पनीको रणनीति देखिन्छ । कम्पनीले लगानीकर्तालाई १३६ प्रतिशतभन्दा बढी प्रतिफल दिने प्रक्षेपण गरेको छ । यो फण्डमा लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षमै १० प्रतिशत प्रतिफल पाउने छन् ।