बलेवा– कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो ।


ADVERTISEMENT

# # #


पाँचवटै ट्र्याक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध१त ४१७ र लु४त ८३६३ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको हो । ‘अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ’, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने ।

प्रहरीले बुधबार ध१त ३५५, ध१त २३७ र ध१त ४५८ नंको ट्र्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ । ट्र्याक्टर चालकबाट पहिलोपटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रोपटकमा रु २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ ।

जैमिनीमा आइतबार पनि सेवा प्रवाह

बागलुङको जैमिनी नगरपालिकाले आइतबारको बिदा नदिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले नगर क्षेत्रभित्र आइतबार बिदा नदिने निर्णय गरेको हो ।

नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकाले सेवा प्रवाह नरोक्ने निर्णय गरिएको उपप्रमुख हरिहर शर्माको भनाई छ । जैमिनीले वडा तहमा योजना सम्झौता र फरफारकका लागि तयारी गरेको छ । जैमिनीले गर्भवती र सुत्केरी स्वास्थ्यचौकी जानुपर्दा यातायातको साधन चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधिसमेत बनाउन लागेको उनले सुनाए । रासस