दोलखा – दोलखाको सदरमुकाम चरिकोटमा रहेको एक क्याफेले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति दिएको छ । चरिकोट बजारमा रहेको ड्रीम्स क्याफेले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रूपमा खुला गरेको हो ।


ADVERTISEMENT


चरीकोट बजारलाई पर्यटकीयस्थल तथा व्यापारिक हव मानिन्छ । तर, हालसम्म सार्वजनिक शौचालय एउटा पनि छैन । सार्वजनिक शौचालय नभएका कारण पर्यटनहरू सास्ती खेप्नु परेपछि आफ्नो क्याफेमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा खुला गरेको ड्रीम्स क्याफेका संचालक भरतरोन श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


चरिकोटमा सार्वजनिक शौचालय निर्माणको माग गर्दै आएपनि पूरा हुनसकेको छैन । देशकै ठूलो अर्थात् काठमाडौं महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै दोलखाको चरिकोटमा पनि यसको प्रयोग सुरु भएको हो ।

आफ्नो क्याफेका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई सहज हुने व्यवसायी श्रेष्ठले बताउँछन् । अब सामान किन्न आउने तथा चरिकोट बजार घुम्न आउने आफ्नो क्याफेमा रहेको शौचालय प्रयोग गर्न पाउने उनले बताए ।

काठमाडौंदेखि छोटो दुरीको पर्यटकीय जिल्लामा एउटा पनि सार्वजनिक शौचालय बन्न नसक्नु दुखद् रहेको उनले बताए । उनले भने, ‘यति ठूलो बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शोचालय नहुँदा जिल्लाबासीकै बेइज्जत हुने भएकाले आफ्नै क्याफेको शौचालयलाई सार्वजनिक शौचालय बनाएको हुँ ।’

उनले मुख्य बजार क्षेत्रमा सरसफाई अभियान सुरु गर्ने प्रतिबद्धता पनि गरे । श्रेष्ठ लामो समयदेखि सामाजिक अभियानमा सक्रिय छन् । उनले विद्यार्थी कालदेखि नै विभिन्न संघ, संस्थामा सक्रिय भएका काम गर्दै आएका छन् ।