काठमाडौँ– राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताएकी हुन् ।


ADVERTISEMENT


यसका साथै उनले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कडाइका साथ कारबाही गरी समाजलाई सुरक्षित बनाउनुपर्नेमा ध्यानाकर्षण समेत गरेकी छन् । दण्डहीनताको अभावमा महिला हिंसा बढदै गएकाप्रति उनले चिन्ता व्यक्त गरिन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा सदस्य कमला पन्तले भने मलको अभावले किसानलाई समस्या परेकाले त्यसको सहज आपूर्ति गर्नुपर्नेमा जोड दिइन् । कृषि क्षेत्रको विकासका लागि किसानलाई राहत दिनुपर्ने उनको माग छ । उनले विसं २०७५ भदौको सर्वोच्चको फैसला कार्यान्वयन गरेर विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनीहरुले पठाएको विप्रेषणबाट मुलुकको अर्थ व्यवस्था सञ्चालन भइरहेको बताइन् ।

अर्का सदस्य सुमित्राकुमारी बिसीले नागरिकता अभावमा अवसरबाट वञ्चित भएकालाई व्यवस्थित गर्न नागरिकता विधेयक ल्याउनुपर्ने माग राखिन् । उनले कर्णाली प्रदेशमा शैक्षिक सामग्री पुग्न नसकेकाले पठनपाठनमा असजिलो भएको बताउँदै सम्बन्धित पक्षलाई संवेदनशील बन्न सुझाएकी छन् । किसानलाई मल र बीउको अभाव भएको, चैतेधान बालीको बजारभाउ ढुटोभन्दा कम भएकाले समायोजन हुनुपर्नेमा जोड दिइन् ।

त्रिशूलीलगायत नदी आसपासका अव्यवस्थित बस्तीले नदी प्रदूषित भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने उनको राय छ । अर्का सदस्य नरबहादुर विष्टले अपरकर्णाली परियोजनाको कार्य निर्धारित समयमा पूरा नगर्ने जिआरएम कम्पनीको इजाजत खारेज गर्नुपर्ने विचार व्यक्त गरे। रासस