काठमाडौं – ‘कुनै वर्षको एक मनसुनको बेला अर्थात् असार साउनमा उर्लिएको खहरे खोलालाई समुद्रको छोरीसँग विवाह गर्ने इच्छा भएछ । उर्लिएको खहरेले  असार साउनमा मडारिँदै बग्दै गएर म विशेष गरी पानीको सबैभन्दा ठूलो स्रोत हुँ मलाई छोरी दिन पर्यो भनी बताएछ । समुद्रले खहरेलाई असार साउनमा बिहे गर्न मिल्दैन चैत बैशाखमा फेरि आउनू भनेर पठाएछ । चैत बैशाखमा खहरे सुकिहाल्यो । छोरी माग्न कसरी जाओस् ? ‘  भन्ने कथा सुनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरुको उदय खहरे खोलाजस्तै भएको बताएका छन् ।


ADVERTISEMENT


स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लोकतान्त्रिक अभ्यासमा दलीय व्यवस्थाको विकल्प नभएको बताए । ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ’ महरले भने ।


ADVERTISEMENT

# # #


यस्तै उनले काँग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘काँग्रेसलाई गठबन्धन भएपनि ठीक छ, नभए पनि ठीक छ’ उनले भने, ‘काँग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन ।’ एमाले अध्यक्ष केपी शर्माओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खाजेपछि काँग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।

‘वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको हो । काँग्रेस यसलाई अगाडि बढाउन तयार नै छ’ उनले भने । यस्तै उनले स्थानीय सरकार घरदैलोको सरकार भन्दै जनजीवनसँग सम्बन्धि विषयमा जनप्रतिनिधिको ध्यान जानुपर्ने बताए ।