काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक अधुरै छोडेर सोमबार नै राजधानी फर्किएका छन् । तीन दिने बैठकमा सहभागी हुन आइतबार उपमेयर सुनिता डंगोलसहित हेटौंडा पुगेका उनीहरु एकदिन मात्र बैठकमा सहभागी भएर हिजो बेलुका ५ बजे नै फर्किएका हुन् ।


ADVERTISEMENT


मेयर साहले यससम्बन्धमा विज्ञप्ति जारी गर्दै स्पष्टिकरण समेत दिएका छन् । जसमा उनले काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेको प्रस्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, देशको राजधानी काठमाडौँ बागमती प्रदेशको लागि एउटा पालिका मात्रै रहेपनि यो कसैको जन्मभूमि, कसैको कर्मभूमि समेत रहेको उनले बताएका छन् । उनले थप लेखेका छन्, ‘गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ र कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’

गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने उनको भनाई छ ।

फर्किए लगत्तै बालेनले फेसबुकमा एक स्टाटस सेयर गर्दै बागमती प्रदेशको कार्यक्रम ‘काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रम’ रहेको भन्दै कटाक्ष समेत गरेका थिए ।