विराटनगर– आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ ।


ADVERTISEMENT


यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए ।


ADVERTISEMENT

# # #


नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा सीमानाका सिल गर्ने गरिन्छ ।

इलाम– यसैगरी सोही निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि सीमा बन्द गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि सीमा नाका बन्द गरिएको उनले बताए ।

उनका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ । इलामका प्रमुख सीमा नाकाहरू पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।

इनरुवा– यस्तै, दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट सुनसरीको नेपाल–भारत सीमा नाका पनि बन्द भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गते साझ ६ बजेसम्मका लागि जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार त्यस अवधिभर जिल्लाका कोशी ब्यारेजदेखि केसलीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको हो । सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज भएको छ । रासस