काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको सुनुवाइ नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए ।


ADVERTISEMENT


“ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत्लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर कुनै पनि कार्यान्वयन भएको छैन”, उनले भने, “शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो ?”


ADVERTISEMENT

# # #


उनले शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताए । उनले सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन माग गरे ।

सांसद जीपछिरिङ लामाले समानुपातिक प्रणाली २० प्रतिशत मात्र राख्न माग गरे । शून्य समयमा बोल्दै उनले समानुपातिक सांसदलाई बजेट पास गर्न कोरम पुर्याउने काम मात्र गरिएको भन्दै २० प्रतिशत समानुपातिक सांसद राख्न माग गरे । उनले सबै सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताए ।

सांसद लामाले नागरिकता विधेयक सबै राजनीतिक दलको सहमतिमा सबै नागरिकले नागरिकता पाउने गरी ल्याउनुपर्ने माग गरे । सांसद आशाकुमारी विकले कञ्चनपुरको १३ वर्षीया बालिका बलात्कृत भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । सांसद अमृता थापाले नेपालको भूराजनीतिक विषयमा संवेदनशील हुनुपर्ने सरकारको ध्यानाकर्षण गराइन्।

सांसद इन्दुकुमारी शर्माले भारतमा नेपाली विद्यार्थीलाई विभेद गरिएको भन्दै समानता हुनुपर्नेमा सरकारको धयानाकर्षण गराइन् । सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्। सांसद तुल्सीकुमारी थापाले सडक बालबालिकाको उचित स्याहारसुसारको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद कृष्णबहादुर राईले जोरपाटी–सुन्दरीजल र जोरपाटी–नारायणटार–थलीसम्मको सडक पनि अलपत्र परेकाले चाँडो बनाउन आग्रह गरे । सांसद केदार सिग्देलले असार १ गते तनँहु भानुमार्गमा पूर्णरुपमा क्षति भएकाले कल्भर्ट निर्माण गरी सञ्चालन र बन्दीपुरमा बाघको आक्रमण बढिरहेकाले समयमा नै नियन्त्रण गर्न माग गरे।

सांसद खगराज अधिकारीले स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी)को पत्रबारे छानबिन गर्न माग गरे । सांसद खेमप्रसाद लोहनीले यही असार १ गते धादिङको नेत्रावती र गङ्गाजमुना गाउँपालिकमा बाढी पहिरोले ४४ घरपरिवारलाई विस्थापित भएकाले राहत उपलब्ध गराई सुरक्षित स्थानका बसोबासको व्यवस्था गरे । ।

सांसद गजेन्द्रवहादुर महतले जुम्लाका गत वर्ष दुईवटा गाउँ आगलागी र दुईवटा वडा बाढीले बगाएको भन्दै अहिलेका उक्त ठाउँका किसानको न घरबार न जग्गा नै रहेकाले किसान पेन्सन कार्यक्रम ती किसानमा कहिले पुग्ने भन्ने प्रश्न गरे । सांसदहरु गणेशकुमार पहाडी र घनश्याम खतिवडाले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमाप्रति आपत्ति जनाए । सांसद गङ्गा चौधरीले दाङ देउखुरीको राप्ति नदीमा दैनिक मापदण्डविपरीत ढुङ्गा गिटी ओसारपसार भइरहेकाले तुरुन्तै रोक्न आग्रह गरिन् । रासस