काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे आफूहरुलाई सुरुवातमै थाहा नभएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार सम्पादकहरुसँगको छलफलका क्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी बाहिरिएसँगै आफूहरुले एसपीपीबारे थाहा पाएको दाबी गरेका हुन् । उनले भने, ‘यो एसपीपीबारे जुन कुराहरु आए, वास्तवमा हामीलाई जानकारी थिएन । २७ अक्टुबर २०१५ मा लेखिएको त्यो चिठी अचानक बाहिर आयो । त्यो भन्दा पहिले धेरैलाई थाहा थिएन कि ।’


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री (केपी शर्माओली)ले आफूलाई थाहै नदिइकन त्यो चिठी पठाइयो भनेको सुनेको बताउँदै उनले त्यसपछिका प्रधानमन्त्रीलाई पनि थाहा नहुने बताए । अध्यक्ष नेपालले भने, ‘उहाँले नै थाहा नपाइसकेपछि अरु प्रधानमन्त्रीले कसरी थाहा पाउने ? कि त हामी ज्योतिषी हुनुपर्यो, कि त अन्तर्यामी हुनुपर्यो । हामी अन्तर्यामी पनि छैनौँ, हामी ज्योतिषी पनि छैनौँ ।’

यस्तै उनले राष्ट्रिय सुरक्षाका विषयमा संवेदनशील रहेको र कुनै विदेशी राष्ट्रहरुसँग अनुचित सम्झौता नहोस् भन्ने कुरामा सरकारलाई सजक बनाउँदै आएको बताए । यस्तै उनले नेपाली सेनाले सिधै विदेशी कुटनीतिक नियोगलाई पत्र पठाउनु राम्रो नभएको बताए ।