जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT


स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउँदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने धारणा व्यक्त गरे । स्वास्थ्य नै महत्वपूर्ण पक्ष रहेको बताउँदै उनले भने, ‘स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।’ योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


पर्सा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतको उपस्थिति थियो । रासस