काठमाडौँ– पूर्व सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्व निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारका रणनीति बनाउन महत्त्वपूर्ण भूमिका खेलेका संयोजक डम्बर साहुले ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को लेटरहेड प्रयोग गर्दै पूर्व सञ्चारकर्मी लामिछानेको पार्टीविरुद्व आयोगमा उजुरी दर्ता गराएका हुन् ।


ADVERTISEMENT


उनले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिइएको विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । लामिछानेको पार्टीले वास्तविक स्वतन्त्र उम्मेदवारहरुमा भ्रम र अन्योलता सृजना गरेको उनको भनाई छ । विज्ञप्तिमा उनले देशैभर स्थानीय तहमा उम्मेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वास्तविक स्वतन्त्र व्यक्ति’ समूहलाई उक्त नामले गम्भीर आघात पुगेको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचत हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साहुले पार्टीको नामबाट स्वतन्त्र शब्द हटाएर अन्य शब्द प्रयोग गर्न अनुरोध समेत गरेका छन् । यस्तै, उनले थप भनेका छन् ,\स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरुको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन-सहकार्य नरहेको समेत जानकारी गराउँछु ।’

सञ्चारकर्मीको पेशालाई त्यागेर केहि दिनअघि मात्रै राजनीतिमा प्रवेश गरेका लामिछानेले मंगलबार मात्रै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका थिए । घोषणा कार्यक्रमलगत्तै उनी दल दर्ताका लागि हिजै आयोग समेत पुगेका थिए ।