काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनबाहिरका दलहरूसँग पनि सहकार्यका लागि पहल अघि बढाउने भएको छ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकपछि बोल्दै उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


खतिवडाका अनुसार शनिबारको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको प्रतिवेदन पेश गरेका थिए। उनका अनुसार नेपालले देश(विदेशको परिस्थित विश्लेषण, स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठनात्मक अवस्था र आगामी दिनमा संगठनको कार्ययोजना र निर्वाचन तयारीबारे केन्द्रित भएर प्रतिवेदन पेश गरेका थिए।

यो बैठकले सत्ता गठबन्धनलाई उच्च प्राथमिकता दिने तर बाहिरका दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय गरेको छ। ‘हाम्रो पार्टीले पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता दिएको छ। हाम्रो नीति भनेको सहकार्य गर्ने तर कसैसँग शरण नपर्ने हो’ उनले भने, ‘पाँच दलीय गठबन्धनबाहिर पनि विकल्प खोज्ने निर्णय भएको छ। त्यसका लागि सबै दलसँग वार्ता गर्नेछौँ।’

समाजवादीले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन बढ्दै गएको निष्कर्ष निकालेको छ। ‘आगामी आम निर्वाचनमा हाम्रो भूमिका अझै बढ्नेछ। स्थानीय तहको निर्वाचनमा हामीले १०० मा २७ प्रतिशतमा मात्रै उम्मेदवारी दिँदा ९ लाख २७ हजार मत पाएछौँ’, उनले भने, ‘जनता कलम चुनाव चिह्न वरिपरि घुम्न तयार छन्।’

प्रवक्ता खतिवडाले तर एमालेसँग भने सहकार्यका लागि अहिले नै वार्ता हुन नसक्ने बताए । ‘एमालेले आजसम्म हामीलाई राजनीतिक दलको दर्जा पनि दिएको छैन, दलको मान्यता पनि दिएको छैन। एमालेले हाम्रो अस्तित्व नस्वीकारेसम्म वार्ता हुँदैन’, उनले भने, ‘एमालेले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिएर राजनीतिक दलको मान्यता दिएमा वार्ता हुन्छ। तर संसद विघटनसहितमा आफ्नो धारणा उसले सार्वजनिक गर्नुपर्छ।’

अहिलेकै अवस्थामा एमालेबाहेकका विचार मिल्ने सबै दलसँग सहकार्यको हात अघि बढाउने निर्णय भएको खतिवडाले बताए।