काठमाडौँ – नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि ‘पावर बाई स्पोन्सर’का रुपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ ।


ADVERTISEMENT


जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालका बीच काठमाडौं स्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ, जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुन आयोजकले जनाएको छ ।

यसैवीच दोस्रो सिजनका लागि निर्णायकहरुको छनौट गरिएको छ । नेपाली लोकसंगीत शिखर पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रुपमा अनुबन्ध भएका छन् । उमेरले झण्डै ८० वर्ष पुग्न लागेका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रुपमा अनुबन्ध भएका हुन् ।

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णाकका रुपमा अनुबन्ध भएकी छन् । पहिलो सिजनमा पनि निर्णायक रहेका रामजी खाँड यसपटक पनि लोकस्टारमा निर्णायककै रुपमा रहनेछन् । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा पनि यो सिजनको निर्णायक छन् ।

लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसकेका निर्देशक शिमोस सुनुवारले निर्देशन गर्नेछन् भने चर्चित एरेन्जर एवं संगीतकर्मी आशिष अविरल संगीत निर्देशकका रुपमा अनुबन्धित भएका छन् ।

चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रुपमा रहने आयोजकले जानकारी दिएको छ ।