वीरगञ्ज – मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ । डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाको आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधारलगायत विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


महानगरपालिकाले सार्वजनिक गरेको ३८ पृष्ठको श्वेतपत्रमा जनशक्तिको चर्को अभाव रहेको पालिकाभित्र सम्पन्न भइसकेका वा सम्पन्न हुन बाँकी रहेका ठूला आयोजना सम्झौताअनुसार निर्माण तथा सञ्चालन नभएको उल्लेख गरिएको छ । महानगरपालिकामा कायम रहेको कूल दरबन्दीको ३८ प्रतिशत जनशक्ति मात्र रहेको छ भने फोहर व्यवस्थापन केन्द्र, पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रलगायत ठूला परियोजना सम्झौताअनुसार सञ्चालनमा नरहेको संयोजक चौधरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले अगाडिको नेतृत्वको कमजोरीका कारण प्रतिकिलो पाँच रुपैयाँ ४२ पैसाको लागतमा फोहर सङ्कलन भइरहेको दाबी गरे । उनका अनुसार महानगरपालिकाभित्रका ८० प्रतिशत करदाता करको दायरामा नआएका कारण महानगरपालिकाको राजस्व सङ्कलनमा चाप थपिएको छ भने भौतिक पूर्वाधारमा ठूलो कमजोरी देखिएको छ ।

नगरप्रमुख राजेशमान सिंहले पहिलेको नेतृत्वको कमीकमजोरीका कारण महानगरपालिका आर्थिक तथा भौतिकरूपमा कमजोर भएको जानकारी दिए । उनका अनुसार पालिकामा बेरुजु बढ्दै गएको छ भने निर्माण भएको ठूला पूर्वाधार एक वर्ष नबित्दै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । महानगरपालिकाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र ल्याउन जरुरी रहेको उल्लेख गर्दै महानगरप्रमुख सिंहले वीरगञ्जको विकासले नै सबैको विकास हुने बताए । रासस