काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित २०९औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताएका हुन्। राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले उल्लेख गरे।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धापूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। आदिकवि भानुभक्तले नेपालमा आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गरेको बताए। प्रधानमन्त्री देउवाले भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत भएको उल्लेख गरे।

‘राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो,’ प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय विभूतिहरुको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक रहेको छ।’

प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरुपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन योगदान पुर्‍याएको बताए।