काठमाडौं नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस जिम्दारको पार्टी नभएकाे बताएका छन् । कांग्रेस क्रियाशीलहरु र प्रतिस्पर्धीहरुकाे पार्टी भएकाले प्रदेश सभापति, जिल्ला सभापति, नगर सभापति र वडा सभापतिको सिफारिसमा  क्रियाशील सदस्यता दिने परिपाटीको अन्त्य गरिनुपर्छ भन्दै  बानियाँले कांग्रेस जिम्दारको पार्टी नभएकाे बताएका हुन् ।


ADVERTISEMENT


नेपाली काङ्ग्रेस टोखा वार्ड ८ इकाईको आयोजना र टोखा महिला संघ को सहाअयोजनामा ‘रजनी फाउन्डेसन’को सहजीकरणमा नेतृत्व विकास तथा मनोसामाजिक परामर्शको तालिमको उद्घाटन र समापन कार्यक्रममा बोल्दै सभापति बानियाँले जिम्दारी परिपाटीले कांग्रेसलाई अगाडि नबढाउने पनि दाबी गरे ।


ADVERTISEMENT

# # #


यसैगरी सभापति बानियाँले निरन्तररुपमा क्रियाशील भएर  लागिरहे मात्र राजनीति सफल हुने बताए । एकपटक टिकट नपाउँदैमा टिकट पाएको उम्मेदवारलाई हराउने कामको अन्त्य गरिनुपर्ने बताए ।  उनले पार्टीमा  अनुशासन हुनुपर्ने कुरालाईसमेत जोड दिए ।

पार्टीमा  अनुशासन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै सभापति बानियाँले काठमाडौं महानगरको चुनावमा १९ वटा वडामा कांग्रेसले जित्दै गर्दा मेयरलेचाँहि हार्न हुन्थ्यो ? भनी प्रश्न गरेका छन् । यसले पार्टीमा अनुशासन नभएको देखाएको उनको तर्क छ ।

सभापति बानियाँले कांग्रेस गणेशमान जस्ता पदको लालसा नराख्ने नेता, किसुनजी जस्ता सम्पत्तिको लालसा नराख्ने नेता र सुवर्ण शमशेरजस्ता अथाह सम्पत्ति भएका नेताका साथै  प्रजातन्त्रका भिजनकारी  विपीजस्ता सबै किसिमका नेता रहेको स्मरण गराए । तसर्थ नेपाली का‌ंग्रेस सबैको पार्टी भएको उनको तर्क छ ।

अघिल्लोपटकको संघीय चुनावको समीक्षा गर्दै सभापति बानियाँले  पार्टीले नराम्ररी चुनाव हार्दा पनि पपुलर मतमाचाँहि एमालेसँग थोरै मतान्तर रहेको स्मरण गराए । उनले आउँदै गरेको निर्वाचनमा पार्टीप्रति बफादार भएर पार्टीको उम्मेदवारलाई जिताउन अपील गरे । प्रतिस्पर्धामा धेरै जना भए पनि एक जनाले मात्र टिकट पाउने कुरालाई स्मरण गराउँदै नेता बानियाँले टिकट पाइएन भनेर पार्टीको उम्मेदवारलाई हराउने काम बन्द गरिनुपर्ने बताए ।

टिकट नपाउँदाको बखतमा हुने मनोभावको चित्रण गर्दै उनले मान्छे मर्दा लास लिएर घाटमा जाँदा जीवन केहि नरहेको बोध भएपनि  घाटबाट फर्कनेबित्तिकै मान्छेमा बाटामै त्यसलाई जानेको छु, त्यसको यत्रो हिम्मत भन्ने जस्ता कुराहरु आउनु अस्वाभाविक भएको स्मरण गराए ।

महिला उम्मेदवारको सन्दर्भमा सभापति बानियाँले  महिलाले टिकट पाउँदै गर्दा महिला दिदीबहिनीहरु सबै लागेर पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताए । महिलाले हार्दा समानुपातिकबाट संख्या पूरा गर्नुपर्ने कुरालाई स्मरण गराउँदै उनले हार्ने अवस्थामा टिकट नलिँदा हुने बताए ।  महिला प्रतिनिधिको हकमा संवैधानिक रुपमा नै संख्या  सुरक्षा गरिएको पनि उनले स्मरण गराए ।

फरक प्रसंगमा  उनले नेपालमा  पदलाई नै नियत नबनाउने राजनीतिज्ञ पनि रहेका र पदलाई एकदमै नियत बनाउने राजनीतिज्ञ पनि रहेको बताए ।

संघीयता पहिचान भएकाले यसलाई सुरक्षित राख्नुपर्नेमा सभापति बानियाँको जोड छ  । संघीयता खारेज गर्नुभन्दा यसको खर्च घटाउनतर्फ लाग्नुपर्ने उनको तर्क छ । जाति, भाषा, धर्म, लिङ्ग, पिछडावर्ग, अपाङ्ग, अल्पसंख्यक र सशस्त्र द्वन्द्वसमेतका प्रतिनिधिलाई  १० प्रतिशत मात्र समानुपातिक राखेर खर्च घटाउन सकिने उनले बताए । जसले गर्दा विद्रोह नहुने र मुलुकमा अमनचयन हुने उनको तर्क छ । खर्च घटाउने उपाय खोजेमा स‌ंघीयताकै कारण देशले उन्नतिको फड्को मार्ने समेत सभापति बानियाँले बताए ।