– सृजना नेपाल


ADVERTISEMENT


गुरुआमा
मेरी प्यारी गुरुआमा
म सानो बालक
भर्खरै आमाको काख र दूध छोडेको
बोली पनि मेरा प्रष्ट फुटेका छैनन्


ADVERTISEMENT

# # #


मलाई बाआमाले
सानो झोला भिराएर
तिमीकहाँ ल्याउछन्

भन्छन्
यो विधालय हो बाबु
तिमीले यहाँ पढ्नु पर्छ
उहाँ तिम्री गुरुआमा हुन्।
म छक्क पर्छु
तिमीलाई हेर्छु
नचिनेको तिम्रो अनुहार
म तिमीसँग डराउँछु
अनि मेरा बा आमाले तिमीसँगै छोडेर जान्छन्
म मेरा बा आमा सङै जान खोज्छु।

तर
तिमीले
माया प्यारले मलाई आफूतिर पार्न खोज्छौ
गीत गायर हुन्छ कि
नाचेर हुन्छ कि
चकलेटको प्रलोभन देखायर
म विस्तारै तिमीतिर आकर्षित हुन थाल्छु
मेरी गुरुआमा
मजस्ता स–साना बालख धेरै छन्
तिमीकहाँ
न तिमीसँग कुनै रिस राग छ
निरन्तर मजस्तै
हामीलाई पढाईरहेकी छौ
न तिमी रिसाउछौ
न तिमी झर्किन्छौ
केवल तिमीमा
हामीप्रति माया, ममता मात्रै छ।

मेरी प्यारी गुरुआमा
तिमीलाई के नामले पुकारौँ
मेरी आमाजस्तै प्यारी मेरी गुरुआमा
म र हामीजस्ता कयौँ केटाकेटीको
भविष्य उज्ज्वल पारेकी छौ
मेरी प्यारी गुरुआमा
तिमी म र हामीजस्ता कयौँ
बालखको मनोविज्ञान बुझ्ने
एक कुशल बालवैज्ञानिक पनि हौ
धन्य छु म मेरी गुरुआमा
तिमीलाई हार्दिक नमन !