काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेट टोलीमा एकता ल्याउन सफल भएको बताएका छन् । बुधबार पदबाट राजीनामा घोषणा गर्दै उनले आफू आउँदा खेलाडीबीच जुन किसिमको मतभिन्नता थियो, त्यो पूर्ण रुपमा अन्त्य भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘आजको भोलि कालोलाई सेता बनाउने क्षमता भएको व्यक्ति म होइन । परिवर्तनका लागि समय चाहिन्छ । तर, गएका ६ महिना मैँले क्यानसँग काम गरेँ । टिममा अहिले धेरै कुरा परिवर्तन भएका छन् ।’


ADVERTISEMENT

# # #


उनले अहिलेको टिम नै नेपालको सबैभन्दा उत्कृष्ट टिम भएको र र विगतका सबै समस्या व्यवस्थित भएको दाबी गरे । उनले थपे, ‘यो कुरा म गर्वका साथ भन्न सक्छु कि अमेरिका र स्कटल्याण्ड भ्रमण गरी अहिले जुन टिम फर्किएको छ, यो युवा तथा व्यवस्थित टिम हो । टिममा जेजस्ता समस्या थिए, ती पूर्णरुपमा व्यवस्थित भएका छन् ।’

उनले कप्तान सन्दीप लामिछानेले राम्रो कप्तानी गरिरहेको र ब्याटिङ, बलिङ लाइनआप पनि राम्रो दिशामा रहेकाले आगामी १०–१२ महिनामा नै नेपाल एशोसिएट्सतर्फको उत्कृष्ट हुने दाबी गरे । उनले भने, ‘एउटा क्रिकेट प्रशंसकका रुपमा हामीले धैर्य गर्नुपर्छ । आगामी १० देखि १२ महिनामा नेपाल एशोसिएट्सतर्फको उत्कृष्ट टिम बन्ने कुरामा म विश्वस्त छु । त्यहाँसम्म पुग्नका लागि म टिमसँग हुन सकिँन, तर मेरो स्थानमा राम्रो मान्छेआएर नेपाललाई त्यो ठाउँमा लैजानेछ ।’

उनले आफूले व्यक्तिगत कारण राजीनामा दिनुपरेको बताए ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितका ४ जना खेलाडीमाथि अनुशासनको कारबाहीपछि नेपाली खेलाडीमा देखिएको मतभिन्नता देखिएको थियो । उक्त कुरालाई सही तरिकाले व्यवस्थित गर्ने उद्देश्यल क्यानले दासानायकेलाई गत गतवर्ष मङ्सिरमा खुला छनोटबाट दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गरेका थिए । उनको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बङ्गलादेशमा आयोजित आइसिसी टि–ट्वान्टी विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।

त्यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उनको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन । यसैसाता स्कटल्याण्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत घरेलु टोली स्कटल्याण्ड र नामिवियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उनी आलोचित बन्न पुगेका थिए ।

त्यतिबेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उनी दबाबमा परेका थिए ।