काठमाडौं – प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा १ हप्तासम्म मेला लाग्ने भएको छ ।


ADVERTISEMENT


पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो २ वर्ष मेला लागेको थिएन । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस वर्षको जनैपूर्णिमा साउन २७ गते परेको छ । समुद्री सतहबाट करीब ४ हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी ५ वटा ताल रहेका छन् ।

संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौं स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरी रहेका छन् । पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ ।

मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौं उपत्यकाबाट समेत ठूलो संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमो पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् ।

पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह पति पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

अहिले पाँचपोखरीसम्म पुग्ने बाटो निर्माण, सूचनापाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङ्पाल गाँउपालिका–३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए । भोताङपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या नहुने उनले बताए ।

पर्यटन प्रवद्र्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने तामाङले बताए । पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, ज्योवाथान डाँडालगायत जुगल हिमाल, दोर्जे लाक्पा हिमाल समेत रहेका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङ्पालकोटको रैथाने महादेव मन्दिर तथा पोखरीमा सरसफाइ गरिएको छ । स्थानीय, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागितामा सरसफाइ गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिए । यहाँ पनि जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । रासस