जाजरकोट– यस जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढङ्गले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ ।


ADVERTISEMENT


जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट बगरादेखि भगवती तल्लुसम्मको सडकमा यसरी गाडी चलाउने गरिएको छ । बीस किलोमिटर दूरीमा चलाइने अधिकांश गाडीमा इन्धन ग्यालेनमा पाइप हालेर गाडी चलाउने गरिएको मात्र छैन, पूरै सिसा फुटेका गाडी पनि असुरक्षित ढङ्गले चलाउने गरिएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय प्रशासनको लापरबाहीका कारण खुलेआम रुपमा यात्रु बस्ने सिटनजिकै राखिएका खुल्ला ग्यालेन राख्ने गरिएको छ । गाडीमा तेल भरिएका ग्यालेन खुल्ला राख्नु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् यातायात व्यवसायी ।

उक्त सडकमा साना गाडी चलाइरहेका जिप चालक खिमबहादुर मल्लले अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेपछि ग्यालेनमा तेल राखेर गाडी चलाउनु परेको बताए।

आगो लाग्ने जोखिम भए पनि आफूहरूले सुरक्षित रुपमा गाडी चलाउने गरेको उनको भनाइ छ । गाडीमा खुल्ला रुपमा तेल राखेर गाडी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक भएको रग्दाका रामबहादुर ध्यारले बताए । गाडीमा खुल्ला ग्यालेनबाट तेल आपूर्ति गरेर गाडी चलाउँदा आगलागी हुने मात्र नभई अप्ठेरो बाटोमा दुर्घटनाको जोखिम पनि निकै रहन्छ ।

जति जोखिमपूर्ण ढङ्गले चलाए पनि प्रहरी र अन्य निकायले कुनै वास्ता नगर्ने गरेको स्थानीय यात्रुको गुनासो छ । “एक त पहाडको बाटो निकै अप्ठेरो, त्यही पनि व्यवसायीले खुल्ला ग्यालेनमा तेल राखेर गाडी चलाउँछन्, यात्रा गर्न निकै डर लाग्यो,” उक्त सडकमा यात्रा गरेर खलङ्गा फर्किएकी खलङ्गाकी स्थानीय सुधा हमालले बताए ।

प्रजिअ कृष्णचन्द्र पौडेलले यसबारे प्रहरीलाई आवश्यक निर्देशन दिइसकिएको बताए । उनले जोखिमपूर्ण ढङ्गले गाडी चलाउन तत्काल बन्द गर्न प्रहरी परिचालन गरिएको पनि बताए।