रिपेश दाहाल, वाग्मती – झण्डै ७१-७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे ।


ADVERTISEMENT


उनी भीमफेदीबाट प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै चित्लाङ चन्द्रगिरि हुँदै भोलिपल्ट काठमाडौँ पुगे । तर उनले भरियालाई बोक्न लगाएर छोडेको गाडी काठमाडौँ आइपुग्न १४ दिन लाग्यो । उनको मात्र हैन प्रायः भीमफेदीबाट बोकाएर गाडी काठमाडौँ पुर्‍याउन सात देखि १६ दिनसम्म लाग्थ्यो । मकवानपुरमा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रताप विष्टले आफ्नो पुस्तक ‘छेलिएका अनुहार’ मा उल्लेख भएको प्रसङ्ग हो यो ।


ADVERTISEMENT

# # #


नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्वीटजरल्याण्डका नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘द हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भ्यियाउन नसकेको बेला नेपाल सफल भएकामा खुसी व्यक्त गरिएको छ ।

विसं २०१३ सम्म नेपालमा मान्छेहरुले गाडी बोक्ने गर्थे । झण्डै ३५ वर्ष नेपालमा गाडीलाई नल कसेर बोक्ने चलन कायम रह्यो । नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकारहरु बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ । त्योे समयमा एउटा सानो गीतको अंश नै बनेको थियो,‘हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ ।

नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेरले जापानबाट गाडी मगाएर नेपालमै त्यसको पुनःनिर्माण र स्तरीकरण गरेको पढ्न पाइन्छ । राजा महाराजा तथा राणाहरुले क्रमशः नेपालमा गाडीहरु भित्र्याएका थिए । विदेशबाट नेपालको वीरगञ्ज, हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाटो बाटै गाडी लगिन्थ्यो भने भीफेदीदेखि काठमाडौँसम्म सडक नबनेका कारण मान्छेहरुले नै बोकेर उपत्यका पुर्‍याउनुपथ्र्यो । त्यस्ता गाडीहरु बोक्न मकवानपुरका बलिया युवाहरुलाई प्रयोग गरिन्थ्यो । गाडी बोक्नेहरुमध्ये कतिले त दुई छाक भातको भरमा पसिना बगाएको र कतिले भने गाडी बोकैरै प्रसस्त जग्गाजमिन समेत जोडेको उनीहरुको जीवनीबाट थाहा पाउन सकिन्छ ।

लामो समय गाडी बोकेर जीवनयापन गर्नेहरुका बारेमा खोजेर मकवानपुरका पत्रकार विष्टले पुस्तक तयार पारेका छन् । मकवानपुरमा मात्र पाइने नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको वनकरिया जाति, सीमान्तकृत चेपाङ जातिसहित गाडी बोकेर जीविकोपार्जन गर्नेहरुको बारेमा समेटेर लेखिएको पुस्तकमा विष्टले उनीहरुको नालीबेली नै प्रस्तुत गर्नुभएको छ । अब गाडी बोकेको अनुभव सुनाउने कोही पनि बाँकी नरहे पनि पत्रकार विष्टले आफूले फेला पारेका चारै जना भरियाको अनुभवलाई चीरकालसम्म पढ्न सकिने गरी सो पुस्तकमा समावेश गर्नुभएको छ ।

वर्षहरु बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरु पनि सकिए । पहिले गाडी बोकेर काठमाडौँ पुर्‍याइन्थ्यो भन्ने सुनेपछि २०६८ सालदेखि गाडी बोक्नेहरुको खोजी सुरु गरिएको थियो । त्यसरी खोज गर्ने क्रममा जीवित रुपमा चारजना भेटिएका थिए । उहिले गाडी बोकेका फाखेलका हिरामान बलामी, चित्लाङका धनबहादुर गोले, पुरन्डीका जुक्तबहादुर वाइबा, पुरन्डीकै हिराबहादुर घलानलगायत अब सबैको निधन भइसकेको छ । विष्टका अनुसार गाडी बोक्नेहरुमध्ये अन्तिम साक्षीको रुपमा रहेका जुक्तबहादुर वाइबाको ९३ वर्षको उमेरमा २०७५ माघ २८ गते निधन भइसकेको छ । उनलाई माघ १० गते दमले चापेर काठमाडौं लगिएको र केही कम भएपछि घर ल्याइएकामा घर पुगेको तीन दिनमै मृत्यु भएको थियो ।

उनको पुस्तकमा उल्लेख भएअनुसार त्यतिबेला गाडी बोक्न पाँच फिटभन्दा बढी अग्लो हुनुपथ्र्यो । गाडी बोक्न गाडीको आकार अनुसार १६ जना, ३२ जना र ४८ जनासम्म प्रयोग हुन्थे । त्यतिखेर ३२, ६४ र ९६ मोडलका गाडी चलनचल्तीमा थिए । बत्तीस मोडलको गाडी बोक्न दुईतिर आठ आठ जना, ६४ को बोक्न १६/१६ जना, ९६ को बोक्न २४/२४ मानिस चाहिन्थ्यो ।

गाडीमा लामालामा नोल बाँधेर चार कुनामा काँध हालेर तन्नेरीहरुले जोडगर हैसा, भनभन भाइ हो देउसिरे भन्दै रमाइलो गर्दै गाडी बोक्ने गरिएको त्यतिखेर गाडी बोक्नेहरुले विष्टलाई सुनाएको उल्लेख छ । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रगिरि हुँदै काठमाडौंँ गाडी बोकेर पुर्‍याउँदा सात दिनदेखि १६ दिनसम्म लाग्ने गथ्र्यो । गाडी बोके बापत प्रतिव्यक्तिले बढीमा ५ आनासम्म जमीन पाउँथे । भरियाहरुले भीमफेदी, कुलेखानी, चित्लाङ, थानकोट हुँदै काठमाडौंँसम्म गाडी पुर्‍यानुपथ्र्यो ।

गाडी बोक्ने र पैदल आवतजावत गर्नेहरुका लागि बाटोबाटोमा स(साना दोकानहरु थिए । ती दोकानहरुमा मकै र कोदोको जाँड तथा ढिँडो खान पाइन्थ्यो । पैदल हिँड्ने बाटोभन्दा गाडी बोकाएर लाने बाटो भिन्नाभिन्नै हुन्थ्यो । गाडी बोक्न अलि फराकिलो बाटो चाहिन्थ्यो । त्यतिखेर गाडी बोक्न प्रयोग हुने बाटो अहिले पनि देख्न सकिन्छ ।

विष्टले पुस्तकमा तत्कालीन अवस्थामा जीवित रहेका तर हाल मृत्यु भइसकेका थुप्रै व्यक्तिसँगको कुराकानीमा आधारित भनाइहरु प्रस्तुत गरेका छन् । गाडी बोक्नेको समाजमा अलग्गै प्रतिष्ठा रहने गरेको विष्टको पुस्तकबाट थाहा हुन्छ । विसं २०१३ सम्म गाडी बोक्ने काम गरेका कुलेखानीका हिरामान बलामी गाडी बोक्ने भएरै धेरैका नजर परेका रहेछन् ।

गाडी बोकेको देखेर नै मनकुमारी बलामीले हिरामानसँग हत्ते गरेर विवाह गरेकी रहिछन् । हिरामानले मनकुमारी सहित तीनजनासँग विवाह गरेका रहेछन् । गाडी बोके पनि हिरामानले गाडी चढेका रहेनछन् । गाडी बोक्न छाडेदेखि काठमाडौंँ नगएका हिरामानको केहीवर्ष अघि निधन भइसकेको छ । गाडी बोक्नेहरु विशेषगरी भीमफेदी, मार्खु, तसर, कुलेखानी र चित्लाङ क्षेत्रका हुन्थे । गाउँका अग्ला र बलिया युवा देखेपछि नाइकेहरुले गाडी बोक्न लैजान्थे । गाडी बोक्ने काम पाएका युवकहरुसँग केटीहरु पनि विवाह गर्न हुरुक्क हुन्थे रे ।

लामो समय गाडी बोक्ने काम गरेका हिराबहादुर घलानलाई उदृत गर्दै विष्टले लेखेका छन्(‘गाडी बोक्नुभन्दा अघि मेरो विवाह भएको थिएन । गाडी बोक्न थालेपछि गाउँमा केटीहरुले मसँग विवाह गर्न तँछाडमछाड गरे । तर मैले एउटा मात्र बिहे गरेँ, अरुले त २र३ वटी नै गरे । गाडी बोक्ने भरियाले केहीले सुरुवाल केहीले कट्टु त केहीले लगौटी लगाउथे । उनीहरु सबैले खुट्टामा भने परालको चप्पल लगाउँथे । एकपटक काठमाडौँसम्म पुग्दा भरियाहरुको चार जोरसम्म चप्पल फाट्थ्यो । चप्पल फाटेपछि राति बास बस्ने ठाउँमा आफै परालको चप्पल बुन्थे ।

विष्टका अनुसार त्यस बेला गाडी बोक्ने भरियाहरुका कथा चाखलाग्दा छन् । लाहुरे बाहरुले सुनाउने लडाइँका कहानी जस्तै । तर वर्षहरु बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरु पनि सकिए । उहिले गाडी बोकेका फाखेलका हिरामान बलामी, चित्लाङका धनबहादुर गोले, पुरन्डीका जुक्तबहादुर वाइबा, पुरन्डीकै हीराबहादुर घलानलगायत सबैको निधन भइसकेको छ ।

गाडी एसियाकै पहिलो सुरुङ मार्गबाट ल्याइन्थ्यो

सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ । तर यो कुरा सत्य हो, नेपालमा आजभन्दा १०६ वर्ष अगाडि सुरुङमार्ग बनेको थियो र त्यस सुरुङमार्गबाट गाडीहरु गुडाएर हेटौँडा प्रवेश गराइन्थ्यो । ती गाडी मोटरबाटो हुँदै भीमफेदीसम्म पुग्थे । हालको बागमती प्रदेशको राजधानी हेटौँडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गएिको थियो । दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङलाई चुरियामाई सुरुङ भन्ने गरिन्छ । राजा त्रिभुवन वीरबिक्रम शाह तथा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनीयर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधिको प्रयोग गरेर खनिएको थियो । करिब ५०० मिटर रहेको सुरुङकोे एकापट्टिको भाग पुरिएपछि हाल मार्गको करिब २८० मिटर मात्र बाँकी रहेको छ ।

तत्कालीन समयमा चुरेको पहाड छेडेर तराईलाई काठमाडौँसम्म जोड्नु महत्वपूर्ण थियो । विसं १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौंँ सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको अड्कल काट्न सकिन्छ ।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुङ्गाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । हाल पुननिर्माणको क्रममा रहेको सुरुङमार्ग पुनःनिर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने जनाइएको छ । प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूलाठूला सवारी साधनहरु भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउको एक खण्डमा विष्फोट गराएर भत्काइयो र त्यहीँ सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो । सडकछेउमा देखिएका सुरुङको मुख थुनियो । बारा जिल्ला तर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो ।


ADVERTISEMENT

#
#


त्यो समयमा बाराको अमलेखगन्जसम्म रेल चल्ने गरेको पूर्व मुख्यमन्त्री डोरमणि पौडेल स्मरण गर्नुहुन्छ । रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरुका अनुसार उक्त मार्ग निर्माण ताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी राजा तथा रााणाहरुले बोकाएरै काठमाडौँ लैजान लगाउने गरेका थिए । अमलेखगञ्ज(भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो । रासस

प्रतिकृया

प्रतिकृया