काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


पदभार पछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री शर्माले नयाँ बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै बजेटको मूल उदेश्य आयात कम प्रतिष्थापन, उत्पादन बृद्धि गर्नु र बैदेशिक मुद्राको सञ्चितिलाई बढाउनु रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने अवसर प्राप्त भएकोमा सबै राजनीतिक दलहरुलाई धन्यवाद दिए ।


ADVERTISEMENT

# # #


मन्त्री शर्माले मन्त्रालयका सचिव र सबै कर्मचारीहरु मिलेर एक बर्ष मन्त्रालयलाई सौहार्दपूर्ण ढंगले अघि बढाएको र अबका दिनमा पनि त्यस्तै सुमधुर र उचित कार्यविभाजनसहित सहकार्य गर्ने बताए । उनले गत वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा समिक्षा गरेर भएका कमीकमजोरीलाई हटाउनेमा ध्यान केन्द्रित गर्ने धारणा राखे ।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा तानिएका शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । संसदीय समितिको छानबिन सकिएपछि शर्मालाई प्रधानमन्त्रीले पुनर्नियुक्ति गरेका हुन् ।