काठमाडौं – मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।


ADVERTISEMENT


पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एंव प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।

यो सडकखण्डमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ । पहिरो खसेको समयमा सुनसान ठाउँमा भन्दा पनि बस्ती भएका क्षेत्रमा गाडी रोक्न जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एंव प्रवक्ता नरहरि अधिकारीको अनुरोध छ ।

पहिरोका कारण लामो समयसम्म बाटोमै रोकिएर बस्दा खाना र पानी तथा र दिसापिसाब गर्न यात्रुलाई समस्या भएको भन्दै उनले बस्ती भएका क्षेत्रमा नै गाडी रोक्न आग्रह गरे । प्रहरीका अनुसार नौबिसे-मुग्लिन सडकखण्डमा भने अहिले गाडीको आवागमन सामान्य छ ।