सकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगममी मंसिर ४ गते गर्ने गरी मिति तोकेको छ । निर्वाचनको मिति तय भएसँगै राजनीतिक दल र नेता कार्यकर्ताहरुले विस्तारै निर्वाचनको तयारी समेत थालेका छन् । यसै सन्दर्भमा हिमालय पोष्टले नेकपा एमालेकी नेतृ भगवती चौधरीसँग सरकारको वर्तमान कार्यशैली, निर्वाचनमा पाटीगत र व्यक्तिगत रणनीति र तयारी लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः


ADVERTISEMENT


पाँच दलीय गठबन्धनले अहिले सरकार चलाइरहेको छ । सरकारका गतिविधिलाई नेकपा एमालेले कसरी हेरिरहेको छ?


ADVERTISEMENT

# # #


पाँच दलीय गठबन्धनको सरकार जनता र देशलाई हितको काम गर्नुभन्दा पनि यसलाई टिकाइराख्न मात्र लागिपरेको छ । नेकपा एमालेले जनता र देशको लागि काम गर्ने सरकार हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेको छ । महङ्गी, भ्रष्ट्राचार र बेथिती बढेर गइरहेको कुरामा पनि एमालेले सरकारलाई सचेत गराइरहेकाे छ । तसर्थ हामीले सदनमा र सडकमा पनि आवाज उठाउने संकल्प गरेका छौं । देश र जनताका लागि गठबन्धनकै शीर्ष नेताहरुले एकछिन सोचे भने मुलुक गम्भीर मोडमा पुगेको छ भन्ने थाहा पाउनुहुन्छ । त्यसपछि उहाँहरुलाई पनि गठबन्धन उचित छैन भन्ने महसुस हुन्छ ।

देशलाई अहिले आर्थिक सामाजिक र राजनीतिक रुपमा कमजोर पारिएको अवस्थालाई ध्यानमा राखेर एमालेले सरकारलाई ध्यानाकर्षण गराउने, सर्तक हुन अपील गर्ने, सदनमा आवाज उठाउने तथा जनतामा जागरण ल्याउने काम गरिरहेको छ । सरकारले विकास र निर्माणको काम नगरेकाले जनताले सुखी हुने परिकल्पना गर्न सकिरहेका छैनन् ।

संविधानको निर्माणपछि हामीले विकासका लगि चाहिने पूर्वाधारहरु खडा गरिसक्नुपर्नेमा सरकारले त्यतातर्फ ध्यान दिएको छैन । नेपालले विकासको गति समात्न चाहने हो भने नेकपा एमालेको सरकार बन्नुको विकल्पै छैन । एमालेको सरकार भएको बेला सुरु भएका परियोजनाहरुमा अलिकति पनि काम भइरहेको छैन । पूर्व-पश्चिम राजमार्गदेखि लिएर विभिन्न परियोजनाको काम द्रुतगतिमा हुनुपर्नेमा एमालेले सरकारलाई घचघच्याइरहेको छ । तर, गठबन्धन व्यक्तिगत स्वार्थमा रुमल्लिएको, सीमित मान्छेका इच्छाहरु पूरा गर्नतर्फ लागि परेको अवस्था छ ।

वर्तमान सकार अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)देखि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्ममा सरकार विवादित बन्यो । यसमा तपाईंको धारणा के छ ?

एमसीसी सम्झौता संसदबाट पास गराए पनि एसपीपी सम्झौता पास गराउन सरकार लाग्नुहुँदैन । एसपीपी सम्झौता पनि पास गराउन प्रधानमन्त्री देउवा नै अग्रसर हुनु दु:खको कुरा हो । देशको हितमा नभएको कुरालाई यसो गर्न खोज्नुहुँदैन । उहाँको गतिविधि हेर्दा मौका परेको खण्डमा यो सम्झौता पनि लागू गराउने देखिन्छ । देशको हित विपरीत रहेको यो सम्झौता उहाँहरुले आफ्नो सरकार टिकाइराख्न र कसैलाई खुशी बनाउन लागु गर्ने त होइन भन्ने कताकता डरको महसुस पनि भएको छ । यसले देशको भविष्य नै खतरामा पर्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।

अहिले महंगी चरमचुलीमा उक्लिएको छ । त्यसको न्यूनीकरणका लागि तपाईंहरुले सरकारलाई कसरी खबरदारी गरिराख्नुभएको छ ?

अहिले भइरहेको अवस्थालाई सरकारले रोकेन भने आगामी आर्थिक वर्षसम्मचरम आर्थिक संकटमा फस्ने देखिएको छ । अर्थतन्त्रका समस्या, महङ्गी र बढ्दो बेथितीमा सरकारले ध्यान दिनुपर्दछ भन्ने नै मेरो भनाई हो । यसलाई हामीले एकदमै चनाखो भएर हेर्नुपर्दछ । हामी कहिलेसम्म आयातित वस्तुमा निर्भर रहन सकौंला ?

सरकारको ढुकुटीमा पैसा सकिएपछि हामीलाई कसैले माया गरेर कुनै कुरा दिनेवाला छैन । अर्थतन्त्र सकारात्मक मोडमा छैन । त्यसैले नै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ भनिराखेको हो । साना, ठूला र मझौला कुनै पनि उद्यमीहरुले पैसा पाइरहेको अवस्था छैन । सरकारको खातामा पुगेको पैसा बजारमा आइरहेको छैन । बैंक तथा वित्तीय संस्थाहरुसँग पनि पैसाको अभाव भइरहेको छ । व्यापारीहरुलाई नगद रुपैयाँको खाँचो परेको छ ।

यता उत्पादन शून्य अवस्थामा झरेको छ । राष्ट्र बैंकले पैसा कहाँ पुगेको छ भनेर विश्लेषण गर्नुपर्छ । किन बजारमा रकमको अभाव भएको हो भन्ने कुरामा सरकार सचेत भएकै छैन । यसलाई पत्ता लगाएर सरकारले कमीकमजोरी सुधार गरेर जानुपर्छ भन्ने मलाई लागेको छ ।

पछिल्लो समय संघीयता खर्चिलो भयो, देशले धान्न सक्दैन भन्ने आवाजहरु बुलन्द हुँदै गएका छन् । कतिपयले प्रदेशलाई खारेज गर्नेसम्मका कुरा गरेका छन् । यसमा तपाईंको भनाई छ ?

प्रदेश गठनका बेला यसका विभिन्न मापदण्ड राखिएको थियो । पाँच वटासम्म मन्त्री राख्न पाउने भन्ने सीमा पनि लगाइएको थियो । अहिले संघीय सरकारमा पाँच दलीय गठबन्धन बनिसकेपछि आफ्ना मान्छेहरु अटाउने, धेरैभन्दा धेरै क्षेत्र समेट्ने भनेर प्रदेशको सीमा तोडिएको अवस्था छ ।

मन्त्रालय नै बढेपछि त्यसका सेवा सुविधा, खाजापानी, कर्मचारी, कार्यालय जस्ता कुरामा धेरै पैसा खर्च भएको छ । यसैले यो एकदमै खर्चिलो भएको छ । देश सानो हुनु र प्रदेश धेरै हुनु तथा सीमित स्रोत साधन भएकाले खर्च कम गर्नेतर्फ सोच्नुपर्ने बेला प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउनुपर्नेमा बढाइरहेको छ ।

छिमेकी मुलुक भारतमा नेपाल जत्रो एउटा प्रदेशको सीमा रहेको छ । हाम्रो सानो मुलुकमा सातवटा प्रदेश हुनु पनि धेरै हो । हाम्रो सीमित अर्थतन्त्रले यस्तो ठूलो खर्च धान्न सक्छ कि सक्तैन भन्ने पनि छ । तीनदेखि पाँच मन्त्रालयको दायरामा प्रदेश सरकार बस्नुलाई ठिकै रुपमा लिन सकिन्छ । एउटै  प्रदेशको १०/१५ वटा मन्त्रालय हाम्रो अर्थतन्त्रले धान्न सक्तैन ।

यसमा पनि स्वकीय सचिवदेखि लिएर पीएसम्मलाई गाडी/घोडा दिनुभनेको देशको आर्थिक अवस्थालाई कमजोर बनाउनु हो । संघीयताको मूल मर्म भनेको जनतालाई आफ्नो हक अधिकार दिने भन्ने थियो । सानै भए पनि आफ्ने प्रदेशबाट सेवा सुविधा उपलब्ध गराउने भन्ने यसको मूल मर्म हो । यसको गलत अभ्यास भएको छ । गलत अभ्यास गर्नुहुँदैन भन्ने हो ।

सकारले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको मिति तोकेको छ । दलहरुले त्यसको तयारी सुरु गरिसकेका छन् । आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्छ कि वामपन्थीसँग तालमेल वा गठबन्धनको प्रयास हुन्छ ?

स्थानीय तहको निर्वाचनको जनमतलाई हेर्ने हो भने एमालेको जनमत राम्रो रहेको थियो । एमालेका आफ्नै समस्या, गठबन्धन हुनु र अरु विविध कारणले एमालेले स्थानीय तहको चुनावमा राम्रो नतिजा भने ल्याउन सकेन । पार्टीका केही व्यक्तिका नैतिक आचरण र नेतृत्वमा रहेका केही व्यक्तिका स्वभावले पनि एमालेले चुनावमा राम्रो नतिजा नपाएको हो जस्तो लाग्छ ।

टिकट दिने सन्दर्भमा पनि प्राविधिक समस्याहरु भएको देखिएको छ । मेरै जिल्लाको सन्दर्भमा तीन वटा मात्र पालिका एमालेले जित्नु कल्पना बाहिरको कुरा हो । कम्तीमा पनि आठ वटा पालिको जित्ने संगठन हामीसँग थियो । पार्टीमा टिकट मिलाउने सन्दर्भमा विभिन्न कुरा भए । तसर्थ थोरैमा चित्त बुझाउनुपर्ने अवस्था सिर्जना भयो । अन्तर्घात पनि भएका छन् ।

जनमतका हिसाबले प्रचारका हिसाबले र कार्यकर्ताका हिसाबले एमाले बलियो पार्टी भए पनि टिकट दिने सन्दर्भमा विभिन्न कुराहरु आयो भने अन्तर्घात हुने रहेछ । यो कुरालाई हामीले ख्याल गर्नुपर्दछ । त्यसैगरी पार्टीमा लोकप्रिय र जनतामा पनि भिजेको, जनताले पत्याउने उम्मेदवारलाई टिकट दिनुपर्छ भन्ने मलाई लाग्छ । यसो नहुँदा उम्मेदवारका आकांक्षीहरु स्वतन्त्र चुनाव लड्ने सम्भावना पनि बढेर जाने खतरा हुन्छ ।

वामपन्थीहरु एउटा घेरामा बसेर चुनाव लड्नु सुखद् कुरा हो । यसो भइदियो भने झनै राम्रो हुन्छ भन्ने मलाई लाग्छ । वामपन्थी विचार बोक्ने पार्टीहरुले एकै सिद्धान्त भएको आधारमा देश र जनताको भलाईका लागि एकै ठाउँमा उभिएर चुनाव लड्नु राम्रो कुरा पनि हो । यसका बारे नेतृत्वमा रहेका नेताहरुले सोच्नुपर्दछ ।

अहिलेको गठबन्धन अरुले बनाइदिएको कारण यस्तो विचार नमिलेको स्थानमा गठबन्धन हुँदा चुनाव जिते पनि अरुको कुरा सुनीराख्नु पर्दछ । अरुले बनाइदिएको गठबन्धनले संसदमा पनि अरुको आदेश बमोजिमका नीति बनाइदिनुपर्ने, अरुको कुरा लागू गरिदिनुपर्ने र अरुले नै चाहेको मान्छेलाई मन्त्री बनाइदिनुपर्ने अवस्थाहरु आउन सक्छन् ।

राष्ट्रिय हितका सन्दर्भमा सोच्ने हो भनेचाँहि एकै विचार भएका पार्टीहरु एकै स्थानमा उभिएर चुनावमा जानु राम्रो हो । स्वाभिमानी भएर उभिन, आफ्नै देश विकास गर्नका लागि कस्तो खालको गठबन्धन गर्ने भन्ने कुरा दलका नेतृत्वमा रहेका नेताहरुले आफैं सोच्नुपर्छ । तत्काल वामपन्थी एकता होला भन्नेमा भने म आशावादी छैन ।

चुनावमा जाँदै गर्दा एमालेका चुनावी एजेण्डा कस्ता हुनेछन् ? यहाँको पार्टी अध्यक्ष चुनावकाे सामना गर्नका कति विश्वस्त भएको पाउनुभएको छ ?

हामी चुनावी माहोल तयार गर्नका लागि सक्रिय भएर लागिपरेका छौं । विश्वस्त भएर नै चुनावकाे सामना गर्न लागेका हौं । पार्टी अध्यक्षलाई पनि मैंले कन्फिडेन्ट नै पाएको छु । हाम्रो पार्टीको मूल एजेण्डा समृद्ध नेपाल सुखी नेपाली नै हो । यसैभित्र रहेर अरु विभिन्न कुरा समेटिन्छ ।

पूर्वाधारका कुराहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्छ भन्ने मलाई लाग्छ । मानव विकासका कुराहरु पनि समेटिनुपर्छ । देशलाई समृद्ध बनाउने दिशातर्फ उन्मुख भएर नै हाम्रो पार्टीको चुनावी एजेण्डाहरु आउँछन् । समृद्ध देश हुनका लागि पूर्वाधार नै सबैभन्दा महत्पपूर्ण कुरा हो । विकट क्षेत्रहरुमा पूर्वाधार नै पुगिनसकेका कारण विकासमा ढिलाई भइरहेको छ ।

आजको देशको अर्थतन्त्रलाई विचार गर्ने हो भने उत्पादनमा हामीले धेरै जोड दिनुपर्ने अवस्था आइलागेको छ । शिक्षा र स्वास्थ्य मुलुकको सबैभन्दा ठूलो पाटो हो । यी सबै कुरा समेटिएपछि मात्र मानव विकास सम्भव हुन्छ । समृद्धि र सुख एकआपसमा जोडिएका कुरा भएकाले यसलाई छुट्याएर हेर्न पनि सकिँदैन ।

स्थानीय तहको चुनावमा पनि हाम्रो पार्टीको एकखालको एजेण्डा आइसकेको छ । यसैको पेरिफेरिमा रहेर हाम्रो पार्टीको चुनावी एजेण्डा आउनेछ । अब आगामी पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्न पायो भने मानव विकासको पाटो र बाँकी रहेका पूर्वाधार विकासमा देशले फड्को मार्छ ।

नेकपाको विभाजनसंगै एमाले पनि टुक्रिएको अवस्था छ । अहिले पार्टीको संगठनात्मक अवस्था कस्तो छ ? पार्टीमा गुट छन् कि छैनन् ?

घरमा पनि कहिलेकाँहि कुरा नमिल्दा बोलचाल बन्द हुने मनममुटाव हुने गर्दछ । पार्टीमा पनि अन्तर्संघर्षहरु भइ नै हाल्छ । तर, अध्यक्ष ओली दोस्रो पटक अध्यक्ष भएर आएपछि पार्टीमा गुटहरु छैनन् भन्दा पनि हुन्छ । उहाँले सबैलाई समेटेर लगेको कारण पार्टीमा अहिले समूहहरु छैनन् ।

उहाँको नेतृत्वमा पार्टी राम्ररी अघि बढिरहेको देखिन्छ । कहिलेकाँहि छोराछोरीले पनि बाबुआमासँग चित्त नबुझ्दा आवाज उठाउँछन् भने ठूलो पार्टीमा फाट्टफुट्ट आवाज उठ्नु सामान्य रुपमा लिनुपर्दछ । यस्तो अवाजले पार्टीलाई सुध्रिएर जाने मौका समेत प्रदान गरेको हुन्छ । त्यसैले अहिलेको अवस्थामा ठूलो रुपमा एउटा एकातिर हुने र अर्को अर्कोतिर हुनेजस्तो गुटहरु छैनन् । यतिबेला पार्टी एकढिक्का भएर अघि बढिरहेको छ ।

निर्वाचन आउन करिब करिब १०० दिन बाँकी रहँदा तपाईंले व्यक्तिगत तयारी कुसरी गरिराख्नुभएको छ ?

म निर्वाचन लड्ने तयारीमा नै छु । पहिले पनि मलाई जनताले पत्याएका नै हुन् । अघिल्लो पटकको चुनावमा थोरै मतान्तरले विभिन्न बहानामा मलाई चुनाव हराइयो । सञ्चारमाध्यममा पनि मलाई के-के कारण रचेर चुनाव हराइएको हो भन्ने कुरा आइसकेको छ ।

जनताले चाहँदा नचाहँदै ममाथि अन्याय भएको कुरा अब बताइरहनुपर्छ जस्तो लागेको पनि छैन । यसपालिको चुनावलाई मैंले अन्तिम युद्धका रुपमा लिएकी छु । अन्तिम युद्ध भएकै कारण मैंले चुनाव जितेर देखाउनुपर्ने छ । जनताको भरोसा पनि जितिरहेकी छु, चुनाव जित्नेमा विश्वास पनि छ ।

यसपालिको चुनावमामा खटिने प्रशासन र सुरक्षा कर्मचारीहरुलाई जनताले दिएको भोट जस्ताकोत्यस्तै राखिदिन पनि अपील गर्न चाहान्छु । भोटलाई पूर्वाग्रह नगरेर यथावत् राखिदिने हो भने मैँले चुनाव जित्छु भन्ने पूर्ण विश्वास लिएकी छु ।

कहाँबाट निर्वाचन लड्दै हुनुहुन्छ ? 

सुनसरी क्षेत्र नम्बर-३ बाट मेरो उम्मेदवारी पर्छ । पहिलो पटक म यस क्षेत्रबाट चुनाव लड्दा कुनै पनि पालिकाहरु बनिसकेको अवस्था थिएन । संगठन बलियो अवस्थामा रहेको थिएन । मैले त्यतिबेला केन्द्रीय सदस्य पनि जितेको अवस्था थिएन ।

दोस्रोपटक चुनाव लड्दा म केन्द्रीय सदस्य पनि भएको थिएँ । यद्यपि त्यतिबेला हामीले पालिकाहरु जितेका थिएनौं । त्यतिबेला संगठन कमजोर देखिए पनि मैFलै एकदमै राम्रो भोट पाएको थिएँ । जनतामा विश्वासको वातावरण बन्यो ।  त्यतिबेला मलाई विभिन्न जालझेल गरेर चुनाव हराइयो । जनताले जिताइदिएको उम्मेदवार हारेको परिणाम घोषणा भयो ।

यसपालि हामी केही पालिकाहरुका साथै १५ वटा वडाहरु जितेका छौं । स्थानीय स्तरमा एमालेले लोकप्रिय मत पाएको छ । संगठन पनि पहिलेभन्दा राम्रो भएको देख्न सकिन्छ । हामी यसपालि बलियो भएका छौं । दुईवटा पालिकामा हामीले जितेका छौं भने दुहबीमा झिनो मतान्तरले हामीले हार व्यहोरेका छौं । दुहबीमा पनि संघीय चुनावमा राम्रो भोट आउने सम्भावना देखेको छु । तसर्थ यसपालिको माहोल राम्रो भएको पूर्वानुमान गर्न सकिन्छ । पार्टीमा कतैकतै अन्तर्घात त जहाँ पनि हुन सक्छ तर यसपालिको सबै माहोल हेर्ने हो भने जीतको संघारमा भएको अनुभूति भइरहेको छ ।

तपाईंका चुनावी एजेण्डता के के हुन्छन् ?

मैँले पहिलेदेखि नै युवा स्वारोजगारका कुराहरु ल्याउन पहल गरिरहेको छु । यसबारेमा धेरैपटक बोलि पनि सकेको छु । आफ्नातर्फबाट युवालाई रोजगारको सिर्जना गर्ने काम मैले सकेजति त गर्दै आएको पनि छु । राज्यको स्तरबाट गराउने सन्दर्भमा म त्यो ठाउँमा पुग्न सकिरहेको छैन ।

यसपटक चुनाव जितें भने युवा स्वारोजगारका सन्दर्भमा धेरै काम गर्छु भन्ने छ । यस्ता विभिन्न स्वरोजगारका क्षेत्रको पहिचान पनि गरिसकेको छु । यसले युवावर्गलाई आफ्नो खुट्टामा उभिन मद्दत पुग्नेछ । औद्योगिक करिडोरको कल्पना पनि गरिरहेको छु । यसबाट यहाँका मजदुरहरु, यहाँका महिलाहरु, यहाँका स्थानीयहरुलाई स्वारोजगारका विविध क्षेत्रहरु निस्कन्छन् भन्ने लागेको छ । यस्ताखालका परियोजनाका लागि यस क्षेत्रमा प्रशस्त जग्गा पनि रहेको छ । उद्योग ग्रामकै रुपमा यस्ता जग्गालाई विकास गर्न राज्यले पहल गर्ने वातावरण बन्यो भने यहाँका वासिन्दाहरु सुखी हुने मलाई लागेको छ ।

यसैगरी हाम्रो देश दुई ठूला जनसङ्ख्या भएको देशको बीचमा अवस्थित छ । किमाथांका नाकाको बाटो पनि खोलेको अवस्था छ । यसैगरी हाम्रो जिल्लामा नै २-३ वटा नाकाहरु पर्ने अवस्था सिर्जना भएको छ । यसलाई हामीले पर्यटनसँग जोडिदिन पायौं भने सुनमा सुगन्ध हुनेछ भन्ने लाग्छ ।

सुनसरी क्षेत्र नम्बर-३ मा बुद्ध पर्यटकीय क्षेत्र र बर्जु ताल पहिलेदेखि नै छँदैछ । यसका विकासका कामहरु गर्नुपर्छ भन्ने लागेको छ । यी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । यसका लागि अलिक सीप लगाएर गुरुयोजना नै बनायो भने पर्यटकीय क्षेत्रका रुपमा धेरै मान्छेको गन्तव्य हुन सक्तछ । यस क्षेत्रमा होमस्टेको व्यवस्था गरिदिने हो भने दिनभर पर्यटक आएर पर्यटनको मजा लिन सक्छन् भन्ने मलाई लागेको छ । गर्मीको मौसममा दक्षिणका पर्यटक र उत्तरका पर्यटक वा आन्तरिक पर्यटकले भरिने स्थान बनाउन सकिने अवस्था छ ।

यसैगरी सोही क्षेत्रमा खेलकुदको विकासको सम्भावना पनि अत्यन्त धेरै छ । पाँच हजारजनासम्म अट्ने एउटा स्टेडियम खडा गर्न सकिन्छ कि भनेर पनि हामीले सोचेका छौं । गर्मी हुने क्षेत्र भएको कारण बर्जु तालमा राष्ट्रिय वा प्रदेशस्तरीय पौडी प्रशिक्षण केन्द्र बनाउन सकिने सम्भावना मैले महसुस गरेको छु । बर्जु ताल र तालभित्रको पोखरीमा नेचुरल्ली पानी निक्लने भएकाले प्राकृतिक जंगल जस्तो देखिने मानव निर्मित जंगल बनाउन सकिने सम्भावना पनि छ ।

यसैगरी आधुनिक कृषि प्रणालीको कुरालाई पनि जोड दिन सकिन्छ । खासगरी तीन नम्बर क्षेत्रको दक्षिणी भेगमा नगदेबालीको उच्च सम्भावना देखिएको छ । यहाँ एउटा अनुन्धान केन्द्र नै बनाएर कुनकुन बाली कस्तो मौसममा लगाउने, माटोको परीक्षण गरेर बालीको सुझाव दिने, बालीको अवस्था र मौसमलाई ध्यान दिएर खेती गर्ने, प्रकृति हेरेर उत्पादकत्व क्षेत्र, चक्लाबन्दी खेती आदिको आधुनिक व्यस्थायुक्त प्रणाली भएको एउटा हब नै बनाएर अघि बढाउन सक्नुपर्छ भन्ने लागेको छ ।

जसमा कलेक्सन सेन्टर, वेयर हाउसहरु र कृषि कलेक्सन सेन्टरहरु पालिका स्तरमा नै विकास गरिनुपर्छ भन्ने लागेको छ । जसमा किसानले आफ्नो लागत हेरेरे आफैं मूल्य तोक्ने प्रणाली बनाउन सकिन्छ भन्ने लागेको छ । यी नै कुराहरु र अरु थप विभिन्न कुराहरु मेरो एजेण्डामा रहेका छन् ।

अन्तिममा के भन्नुहुन्छ ?

मलाई पहिलेदेखि नै राज्यको कुनै निकायमा रहेर जनताको सेवा गर्ने धोको रहेकाे छ । जहाँ रहेर मैँले मेरा सोचहरु, विचारहरु र योजनाहरु जनतालाई सेवा दिनका लागि प्रयोग गर्न सकौं भन्ने लागेको छ । जनतामार्फत् चुनिएर राज्यको दायित्व निभाउने स्थानमा पुग्ने मेरो सपना पनि हो ।

यसपटक पनि म चुनाव मार्फत् जनतामा जान चाहेको छु । तसर्थ आदरणीय दाजुभाई, दिदीबहिनी र आमाबुबाहरुले मलाई विश्वास गरेर दायित्व निभाउने भूमिका दिनुहुन्छ भन्ने विश्वास लिएको छु । हजूरहरुले दिनुभएको अहिलेसम्मको माया, विश्वास र भरोसालाई कायम राख्नेछु भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।