सार्वजनिक विद्यालय वा कलेज भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउँछन् । गुणस्तरीय शिक्षाका लागि भन्दै विद्यार्थी र तिनका अभिभावकले सकभर निजी शिक्षण संस्थालाई नै रोज्ने गर्छन् । तर, पछिल्लो समय केही सार्वजनिक शिक्षणसंस्थाले आम मानिसको धारणा परिवर्तन गर्न सफल भएका छन् । शिक्षाको गुणस्तरदेखि परीक्षाको नतिजासम्म निजी शिक्षणसंस्थालाई टक्कर दिइरहेका छन् । त्यसमध्येकै एक हो काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन मा.वि. । स्थापनाको ७५ वर्ष पार गरेको यो विद्यालय पछिल्लो समय काठमाडौँ मात्र नभई देशभरिका विद्यार्थी र अभिभावकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । उच्चशिक्षा समेत अध्यापन गराउँदै आएको विश्वनिकेतनले अहिले एसईईको नतिजा आएसँगै नयाँ विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेको छ । यसै सन्दर्भमा विश्वनिकेतन मा.वि.का प्रधानाध्यापक हेरम्बराज कँडेलसँग हिमालय पोष्टले गरेको कुराकानी को सम्पादित अंश:


ADVERTISEMENT


विश्वनिकेतन विद्यालयको अवस्था कस्तो रहेको छ ? कसरी चलाइरहनुभएको छ ?


ADVERTISEMENT

# # #


विश्वनिकेतन माध्यमिक विद्यालय वि.सं २००३ साल माघ महिनामा स्थापना भएको हो । त्यतिबेलाका शिक्षप्रेमी स्वर्गीय नरमान श्रेष्ठले न्यूरोडको एंगालस्थित आफ्नै घरबाट सुरु गर्नुभएको विद्यालय नै आजको विश्वनिकेतन मा.वि. हो । गत वर्ष हामीले विद्यालयको हिरक महोत्सव पनि मनाइसकेका छौं । विद्यालयले विभिन्न उतारचढाव व्यहोरेर ७५ वर्षको अवधि पार गरिसकेको छ ।

आज हामी अब्बल विद्यालयको छवि बनाएर अघि बढिरहेका छौं । हाम्रा विद्यार्थीहरुले यहाँबाट शिक्षा प्राप्त गरी विभिन्न स्थानमा राम्रो परिचय पनि बनाइसकेका छन् । यसपालि पनि विद्यालयले एसईई परीक्षमा राम्रो नतिजा हासिल गरेको छ । २३२ जना विद्यार्थीहरु मध्ये परीक्षामा २२२ जना सहभागी भएका थिए । जसमा सबै विद्यार्थीहरुले २ जिपीएभन्दा माथिको अंक प्राप्त गरेका छन् । ए प्लस र ए ग्रेड ल्याउने विद्यार्थीको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ । विद्यालयको लागि यो गौरवको कुरा हो । २०७५ मा ४ जीपीए ल्याएर हाम्रा विद्यालयका छात्र भेषराज उपाध्यायले देशभरकै सर्वोत्कृष्ट भएका थिए । हाल त्यस्तो नतिजा नआए पनि धेरै विद्यार्थीको ग्रेड राम्रो आएकोमा हामी खुशी छौं ।

विद्यालयमा एसईई पास गरिसकेका विद्यार्थीहरुलाई कस्ता विषयहरु पढाइरहनुभएको छ ?

यतिबेला विद्यार्थीहरु कुन विषय पढ्ने र कहाँ पढ्ने होला भनेर भौतरिरहेको अवस्था छ । विद्यार्थीहरुको आफ्नो रुचिका विषयहरु पनि हुन्छन् । उनीहरुको भविष्यमा म यो पेशामा जान्छु भन्ने दृढ सपना पनि हुने गर्दछ । त्यसैगरी आफूले पाएको जीपीएका आधारमा पनि विषय छनोट गर्नु राम्रो हुन्छ भनेर पनि म सल्लाह दिन चाहान्छु । हामीले ५१/५२ सालबाट ‘प्ल टु’का कार्यक्रम चलाउन थालेका हौं । हामीले अहिले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाजस्ता विषयहरु अध्ययन गराइरहेका छौं । हामीकहाँ नेपालका ‘प्लस टु’मा पढाइराखेका सबै विषयहरु पढाइ भइरहेको छ ।

श्रावण ११ गते एसईईको नतिजा प्रकाशन भइसकेपछि हामीले १२ गतेबाट विद्यार्थीको आवेदन माग्यौं । अहिले २५ सय भन्दा बढी आवेदन आइसकेको छ । २१ गते हामीले प्रवेश परीक्षा लिने तयारी गरेका छौं ।

त्यतिबेलासम्म करीब ४ हजार विद्यार्थीको प्रवेशका लागि प्रतिस्पर्धा हुने अनुमान गरेका छौं । विद्यालय प्रांगणमा सँधै प्रवेश आवेदन खुलाउँदा अभिभावक र विद्यार्थीको चाप देख्न सकिन्छ । अहिले पनि यसै भइरहेको छ । यसलाई विद्यार्थी र अभिभावकको आकर्षणका रुपमा लिन सकिन्छ ।

कुन जीपिए पाएका विद्यार्थीले कुन विषय पढ्ने भन्ने केही त्यस्तो अवधारणा पनि छन् कि ?

विज्ञानलाई अलिकति कठीन विषय मानिन्छ । यो विषय पढ्नका लागि एसईईमा कम्तीमा २ जीपीए ल्याएर विज्ञान गणित र अंग्रेजी विषयमा कम्तीमा पनि सी प्लस ल्याउनुपर्छ भन्ने हो । नर्सिंग लगायतका विषय पढ्नका लागि पनि उही मापदण्ड बनाइएको छ । तर, हामीकँहा नर्सिंग पढाइएको छैन । अरु विषय पढ्नका लागि १.६ जीपीए कटेपछि पढ्न पाइन्छ । तसर्थ अरु विषय पढ्नका लागि कम्तिमा १.६ जीपीए ल्याउनुपर्छ भन्ने हो । हामीकहाँ पनि यही मापदण्ड पूरा गरेर विद्यार्थीहरु यहाँ भर्ना हुन पाऊँ भनेर आवेदन दिन आएका छन् ।

समग्रमा यहाँ पढेका विद्यार्थीहरुले कस्तो नतिजा पाइरहेका छन् ?

वि.सं २०६२ सालमा हामीले साविकको उच्च माध्यमिक शिक्षा परीषद्बाट क्षेत्रीय पुरस्कार पनि पायौं । २०६५ सालमा पनि सोही संस्थाबाट सोही पुरस्कार पायौं । २०७२ सालको एसईईमा देशभरकै सामुदायिक विद्यालयबाट सक्षम वाग्ले र आशीष सापकोटा सर्वोत्कृष्ट भए । २०७२ सालमा पनि रोजिना अधिकारी सोही उपाधि पाउन सफल भइन् ।

२०७५ सालमा त हाम्रो खुसीको सीमा नै रहेन । हाम्रो विद्यालयका विद्यार्थी भेषराज उपाध्याय देशभरकै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी बने । २०७३ र २०७४ सालमा हाम्रो विद्यालयमा विद्यार्थीको चाप पनि बढी भएको र शैक्षिक सिकाई पनि राम्रो भएको कारण हामीले यस्तो नतिजा पाएका हौं ।

हाम्रा विद्यार्थीले एमबीबीएसमा हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकालिरहेका छन् । गत वर्ष चिकित्सा सेवा आयोगले लिएको परीक्षामा हाम्रा विद्यार्थी आशीष झाले चार वटा कीर्तिमान सहित देशभर एमबीबीएस, बीडीएस र बाम्समा सर्वोत्कृष्ट भई शिक्षण अस्पतालमामा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् । त्यहीँ अरु १० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । यसपटक हाम्रा ४१ जना विद्यार्थीले नाम निकालेका छन् ।

यसै वर्ष पुलचोक इन्जिनियरिंग कलेजमा १३ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । ४१ जना विद्यार्थीले बिईमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । त्यसैगरी बीटीटीएम, बीएएलएलबी, बीबीए, र सीएमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरु पनि उल्लेख्य रहेका छन् ।

यसरी विद्यार्थीहरु सफल हुनुको कारण भनेको सबै कर्मचारी र शिक्षकले आफ्ना बच्चा आफ्नै स्कुलमा पढाउनु पनि हो । आफ्नो बच्चालाई आफ्नै स्कुलमा पढाएपछि स्कुललाई राम्रो बनाउने प्रेरणा शिक्षक र कर्मचारीलाई भई नै रहन्छ । आफ्ना छोराछोरीलाई नीजिमा हालेर तपाईंको बच्चा हामी पढाउँछौं ल्याउनुहोस् भन्यो भने अभिभावकले विश्वास गर्ने वातावरण बन्दैन । सामुदायिक विद्यालयको उत्तरदायित्व र अभिभावकको भरोसा भनेकै सामुदायिक विद्यालयका शिक्षका छोराछोरी कहाँ पढाएको छ भन्नेले निर्धारण गर्दछ । शिक्षक कर्मचारीकै बच्चा आफ्नै विद्यालयमा पढ्छ भनेचाँहि पढाई कस्तो छ, शिक्षकले पढाए नपढाएको, सिकाई उपलब्धिमूलक भए नभएको सबै कुराको निरीक्षण र अनुगमन हुने गर्दछ । हाम्रो विद्यालयको राम्रो नतिजा आउनुको कारण नै यही हो भन्ने लागेको छ ।

अभिभावकहरुले निजी विद्यालय र सरकारी विद्यालय भनेर तुलना गरिरहेको देखिन्छ । यसमा तपाईंको धारणा के छ ?

सरकारी विद्यालयहरुले आज धेरै सुध्रिएर पठनपाठन राम्रो गरिरहेका धेरै उदाहरणहरु छन् । यसलाई हामीले प्रचार प्रसार गर्न सकिरहेका छैनौं । कतिपय सरकारी विद्यालयहरु सुध्रन प्रयास गरिरहेका पनि छन् ।

सरकारी विद्यालयमा तालिम पाएका अनुभवी शिक्षकहरु छन् । उहाँहरुले पढाउनुपर्छ भन्ने आत्मबोध गर्नुभयो भने निजी विद्यालयमा विद्यार्थीहरु जानै चाहँदैनन् । यसका लागि इच्छाशक्ति चाहिन्छ । यसको उदाहरण हाम्रो विद्यालय पनि हो । अरु सामुदायिक विद्यालयहरुले पनि राम्रो गरेको उदाहरण प्रमाणित गरेर देखाएको उदाहरण हाम्रो आँखासामू नै छ । सरकारले पनि सामुदायिक विद्यालय मार्फत् शिक्षामा ठूलो रकम खर्च गरिरहेको छ ।

यस वर्ष हाम्रै विद्यालयमा ४ सय जना नयाँ विद्यार्थी भर्ना गर्ने भनेर १ कक्षादेखि ९ कक्षासम्म भर्ना खुलाएकोमा २५ सयको हाराहारीमा विद्यार्थीहरु प्रवेश परीक्षामा सामेल भए । विद्यार्थीको चाप बढी देखेपछि हामीले ५५० जना विद्यार्थीको भर्ना लियौं । निजी विद्यालय छाडेर सामुदायिक विद्यालय आएका करीब ५१० जना विद्यार्थी यसैवर्ष हामीकहाँ भर्ना भए । इच्छाशक्ति नै बलियो हुन्छ भन्ने यो भन्दा ठूलो उदाहरण के छ र ?

विद्यालय सुध्रिएर सबलीकृत भएर गयो भने विद्यार्थी र अभिभावक सरकारी विद्यालयमा आउन हिच्किचाउँदैनन् । तसर्थ निजी विद्यालयमा ठूलो खर्च गरेर आफ्नै बच्चा पनि पढाउनुपर्ने समस्यालाई बुझेर सामुदायिक विद्यालयका शिक्षकले मेहनत गर्नुपर्दछ । सामुदायिक विद्यालयको सिकाई उपलब्धीमूलक बनाउने बित्तिकै निजी विद्यालयहरु आफैं  बन्द हुँदै जान्छन् ।

अन्तिममा आम विद्यार्थी, शिक्षक र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?

प्रधानाध्यापकका हैसियतले विद्यालयलाई कुशलतापूर्वक चलाउनु हरेक प्रधानाध्यापककाे दायित्व हो । प्रधानाध्यापकले कहिले पनि संस्थाको हाकिम बन्ने कोसिस गर्नुहुँदैन । सेवक भएर काम गर्ने मेरो कर्तव्य हो भन्ने कुरा महसुस गर्नुपर्छ ।

विद्यालयलाई हामी सबै शिक्षकले पूर्ण समय दिनुपर्ने हुन्छ । विद्यार्थीहरुलाई सिकाईमा अभिरुचि बढाउनका लागि उनीहरुलाई गृहकार्य दिनुपर्दछ । आज प्रचलनमा रहेका विभिन्न नयाँ शिक्षण विधिको प्रयोग गरेर विद्यार्थीलाई सिकाउनुपर्दछ । प्रयोगात्मक, प्रदर्शनात्मक, परियोजना कार्यविधि, अभ्यासमूलक शिक्षणले नै विद्यार्थीको क्षमता वृद्धि हुन्छ भन्ने कुरा भुल्नुहुँदैन ।

विद्यालय छाडेर विभिन्न राजनीतिक भेलाहरुमा सहभागी हुन जाने प्रवृत्तिलाई त्याग्नुपर्दछ । शिक्षण पेशामा आफ्नो जिम्मेवारी पूरा गर्दै यसलाई जागिरका रुपमा नलिन आम शिक्षकहरुलाई मेरो आग्रह छ । विद्यार्थीहरुले पनि आफूलाई दिएका काम जिम्मेवारीपूर्वक निभाउनुपर्दछ । नबुझेका कुरा नडराई सोध्नु उनीहरुको अधिकार हो ।

अभिभावकले हरेक दिन बच्चाको सिकाईकोबारेमा ख्याल गर्नुपर्दछ । विद्यालयकाबारेमा चासो लिने, सोधपुछ गर्ने अनुगमन गर्ने काम गरिरहनुपर्दछ । यसले प्रशासन र शिक्षकलाई सिर्जनशील हुन मद्दत मिल्छ । प्रधानाध्यापकका काम र दायित्व अझै धेरै हुने भएकाले दूरदरजमा रहेका विद्यालयका प्रधानाध्यापकलाई पनि सचेत भएर विद्यालय चलाइदिनुहुन अनुरोध गर्दछु ।

अभिभावकले बच्चालाई विद्यालय पठाएपछि मेरो दायित्व पूरा भयो भन्ने काम गर्नुहुँदैन । बच्चाको क्रियाकलाप र सिकाईप्रति चासो राख्नुपर्दछ । विद्यालयमा पनि बेलाबेला गएर पठनपाठन भए नभएको, शिक्षक उपस्थित भए नभएको जानकारी लिने गर्नुपर्दछ । यसरी अभिभावक सक्रिय हुँदा शिक्षकहरु उत्तरदायी बन्न थाल्दछन् ।

कमीकमजोरी सुधारका लागि सुझाव दिने कर्तव्य पनि अभिभावकको हो । विद्यालय व्यवस्थापन, शिक्षक संघ, प्रशासन सबैले विद्यालयलाई राम्रो बनाउन सहयोगी भूमिका निभाउनुपर्छ भन्ने मलाई लाग्छ । आफ्ना बच्चाको मात्र भविष्यकोबारेमा सोचेर वा आफ्ना मान्छेलाई जागिर खुवाउनेतर्फमात्र सोचेर अभिभावक र प्रशासनले हस्तक्षेपको नीति पनि कहिले पनि लिनुहुँदैन । सुमधुर सम्बन्धका साथ प्रशासन र अभिभावक आफ्ना कुराहरु राख्नुभयो भने देशका सामुदायिक विद्यालयहरु राम्रो भएर जानेछ भन्नेमा कुनै शंका छैन ।