प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताएका छन्  ।


ADVERTISEMENT


कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ,’ गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आइतबार पोखरामा उनले भने ।

‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’ एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताए । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सके उच्च मनोबलका साथ अघि बढ्ने उनको भनाइ थियो ।

सिंहले मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन गरे ।