नेपाली काँग्रेस बाग्मती प्रदेशका सभापति तथा नेपाली काँग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसँग आगामी संघ र प्रदेशको प्रदेशको निर्वाचन, पाँचदलीय गठबन्धन र उनको व्यक्तिगत तयारी लगायतका विषयमा हिमालय पोष्टले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः


ADVERTISEMENT


-चुनावको मिति घोषणासँगै कांग्रेसको तयारी कस्तो रहेको पाउनुभएको छ ?


ADVERTISEMENT

# # #


गठबन्धनमार्फत चुनावमा जाने तयारी भइरहेका कारण नेपाली कांग्रेसले टिकट बाँडफाँड समिति बनाएर अघि बढिरहेको छ । आदरणीय नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा महामन्त्री गगन थापा र माननीय ज्ञानेन्द्र बहादुर कार्की रहेको तीन सदस्यीय समिति बनेको छ । गठबन्धनमार्फत सिटको सङ्ख्या टुंगो लागेपछि यो समितिले कसलाई कहाँ कसरी टिकट दिने भन्ने निर्णय गर्नेछ । प्रदेश र प्रतिनिधिसभा दुवैको टिकट यही समितिले वितरण गर्नेछ ।

नेपाली कांग्रेसले आगामी चुनावको लागि भाद्र २ गतेदेखि २४ गतेसम्म चुनावी जागरण अभियान पनि चलाउने निर्णय गरेको छ । यसले आम मतदाता र कांग्रेसी जनमा विश्वासको वातावरण सिर्जना गर्नेछ । पार्टीलाई सुदृढीकरण र शुद्धीकरण गर्न पनि हामी लागिरहेका छौं । आगामी निर्वाचनमा पार्टीका कार्यकर्ता, आम मतदाता र नेपाली जनतामा उत्साह पैदा गराउने हिसाबले पार्टी अघि बढिरहेको छ ।

-गठबन्धन चुनावसम्म नै जान्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ? 

गठबन्धन चुनावसम्म नै जान्छ । गठबन्धन बनेको नै संविधानको संरक्षण, गणतन्त्रको विकासका लागि भएकोले चुनावसम्म नै गठबन्धन जान्छ भन्नेमा विश्वस्त हुनुपर्छ । हाम्रो पार्टी गठबन्धनलाई अझ बलियो र विश्वस्त बनाउनका लागि लागिरहेको छ । तसर्थ हामीबाट गठबन्धन टुट्दैन । अन्य कारणले गठबन्धन टुटिहाल्यो भने त म केही भन्न सक्दिनँ । नेपाली कांग्रेसचाँहि गठबन्धनको विपक्षमा रहेको छैन ।

गठबन्धनका कारणले कांग्रेसमा टिकटका सन्दर्भमा समस्या आउने सम्भावना देख्नुभएको छ ?

राजनीतिमा सानातिना समस्याहरु आई नै हाल्छन् । हामीले लोकतन्त्रको रक्षा पनि गर्नुछ । टिकट पाउने र नपाउनेका बीचमा द्वन्द्व हुनु सामान्य कुरा हो । आफ्नो क्षेत्र र आफ्नो प्रदेश आफैंले नपाउँदा एकखालको पीडा पनि हुनेछ । जनमतको आधारले पनि आफ्नो क्षेत्र आफैंले पाउनुपर्छ भन्ने हुन्छ । अलिकति समस्या त आउला नै । टिकट दिँदा जनमत र मन मिलाउनुपर्ने पनि हुन्छ । पार्टीको जनाधार भएको क्षेत्र गुमाउनुपर्दा एकखालको समस्या त आउनेछ नै । तर, पनि यसलाई व्यवस्थापन गरेर जानुपर्छ ।

-टिकट वितरण कसरी होला भन्ने आँकलन गर्नुभएको छ ?

सबैभन्दा पहिले गठबन्धनको सिटको तालमेल सक्नुपर्ने हुनछ । तालमेलबाट आएको संख्यालाई नै कसरी वितरण गर्दा राम्रो हुन्छ भन्ने योजना बनाउनुपर्छ । यसैगरी पार्टीको विधानअनुसार कसरी वितरण गर्ने भनिएको छ त्यसरी नै पनि गर्नुपर्छ । केन्द्रीय संसदीय बोर्डमा २५ जना सदस्य रहेका हुनछन् । अहिले त्यो पूर्ण भइसकेको छैन । त्यो बनेपछि सिफरिसका आधार पनि तय हुनेछ । संसदीय बोर्डले नै तालमेलमा पाइएको सिट प्रदेश प्रतिनिधि सभा दुवैको टुंगो लागाउने छ । क्षेत्र प्रदेश र जिल्ला हुँदै प्रक्रिया पुर्याएर टिक विरतण हुन्छ । यसअघि पनि यही प्रक्रियाबाट टिकट वितरण हुँदै आएकोले यसपटक पनि त्यही विधान र प्रक्रिया अनुसार हुनेछ ।

-चुनावपछि कांग्रेसले कति सिट जित्ला भन्ने अनुमान गर्नुभएको छ ?

पहिलो कुरा त बाँडफाँड कसरी हुन्छ भन्ने टुंगो लागिसकेको छैन । यसकै आधारमा मात्र हामी यति जित्छौं भन्ने अनुमान लगाउन सकिने कुरा हो । बाँडफाँडमा प्रदेशमा हामीले कति सिट चुनाव लड्ने कति छाड्ने, प्रतिनिधि सभामा कतिवटामा कांग्रेस लड्नेछ भन्ने टुंगो भएपछि मात्र एकखालको अनुमान गर्न सकिन्छ । प्रतिनिधि सभामा कांग्रेसले १०० सिट लिने हो कि १०२ लिने हो कि टुंगो लागेकै छैन । प्रदेशतर्फ पनि कुन प्रदेशमा कति सिट लिने भने टुंगो भएपछि मात्र यस्तो खालको नतिजा आउँछ भन्ने अनुमान गर्न सकिन्छ ।

सबैभन्दा पहिले पाँचदलीय गठबन्धनबाट कांग्रेसले पाउने सिट संख्या टुंगिनुपर्छ । यसलाई टुंग्याउन स्थानीय तहमा भर्खरै सकिएको चुनाव पनि कारक हुनेछ । विगतमा जितेका स्थानहरुको आधार पनि रहनेछ । अहिलेको मत र हिजोको परिस्थिति तथा गठबन्धनको संस्कारलाई पनि हेरेर यसको टुंगो लाग्नेछ ।

-चुनावपछि कांग्रेसकै सरकार बन्ने सम्भावना कति छ ? कांग्रेसकै सरकार बने सरकारको नेतृत्व कसले गर्ला ?

गठबन्धनबाट चुनावमा गएमा सम्भावना मात्र नभएर पक्कापक्की नै हुन्छ । सबैलाई साथमा लिएर जान लागेको पनि यही कारण हो । नेतृत्व गर्ने कुरामा त गठबन्धनमा के खालको सहमति बन्छ, त्यही आधारमा बन्नेछ भन्ने लाग्छ । त्यसमा पनि पहिले कसले सरकार चलाउने पछि कसले चलाउने भन्ने कुरा होला भन्न सकिन्छ ।

प्रदेशको नेतृत्व कसले गर्ने, संघीय सरकारको नेतृत्व कसले गर्ने र कसरी जाने भन्ने एकखालको सहमति बनेपछि मात्र यसै हुन्छ भन्न सकिने कुरा भयो । सहमतिका आधारमा सबै कुरा हुने भएकाले कांग्रेसले सहमतिमा इमानदारिता देखाउँछ भन्ने हो ।

-चुनावका लागि तपाईंको तयारीचाँहि के छ ?

म यहीँ लड्छु भनेर भन्न सक्तिन । पार्टीले मलाई कुन रुपमा लिएको छ । म कहाँ फिट छु भन्ने कुरा उहाँहरुले विचार गर्नुहोला । साथै पार्टी सभापतिले मलाई कुन स्थान भन्नुहुन्छ म त्यहीँ लड्नेछु । प्रदेश वा प्रतिनिधि सभा भनेर म भन्न सक्दिनँ । चुनाव लड्ने कुरामा जिल्लाका कुरा, क्षेत्रका कुरा, त्यहाँको साथीहरुको चाहना र त्यहाँको भूगोलका कुरा सबैका विचार गरेर मात्र निर्क्योल हुने हुँदा अहिले नै यसै गर्छु भन्नुहुँदैन ।

चुनावमा टिकट पाउने कुरामा स्थानीय तह, जिल्लाका साथीहरु, सिफरिस आधिकारिक मान्छेले गरेको हो-होइन, प्रदेशले व्यक्तिलाई कसरी हेरेको छ, केन्द्रले जित्ने सम्भावना देखेको छ कि छैन यी यावत् कुरा विचार हुन्छ । संसदीय बोर्डमा कुरा पनि हुन्छ । त्यहाँ छलफल होला । तसर्थ म एक्लैले कहाँ चुनाव लड्ने भनेर निर्धाण गर्न मिल्ने कुरा नै होइन । दलीय व्यवस्थामा मेरो व्यक्तिगत इच्छाले कुनै कुरा हुने होइन । पार्टीका इच्छाअनुसार नै म अघि बढ्नेछु ।

-केही समय पहिले तपाईंले प्रदेश सरकारको नेतृत्व गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । सत्ता गठबन्धनमा त्यही अनुसार सहमति पनि भएको थियो । तर, त्यो हुन सकेन । आगामी निर्वाचनमा प्रदेशतर्फ लडेर प्रदेश सरकार सञ्चालन गर्ने इच्छा छैन ?

जिल्लाका साथीहरुबाट प्रतिनिधि सभाको कुरा आएको छ । अन्य जिल्लाका साथीहरुको मन भने केहि फरक छ भन्ने मोटामोटी अनुमान भएको छ । कतिपयले प्रतिनिधि सभामा जानुपर्छ भनिरहेका छन् । कतिपयको अरु कुरा पनि छन् । कतिपयले फेरि प्रदेशमै लडेर प्रदेशलाई अझ बलियो बनाउनुपर्छ भनिरहनुभएको छ । प्रदेशभरिको साथीहरुको यस्तो अभिमत छ । केन्द्रसँग परामर्श गरेर उहाँहरुले कसो गर्दा ठीक हुन्छ भन्ने कुरा भएर निर्णय भएपछि मात्र यसको टुंगो लाग्छ ।

-संघको निर्वाचनका लागि आफूलाई कत्तिको बलियो उम्मेदवार हुँजस्तो लाग्छ ?

म संघ र प्रदेश दुवैखालको चुनावको लागि बलियो नै छु जस्तो लाग्छ । किनभने संघ र प्रदेश दुवैमा हाम्रो पार्टीको संगठन बलियो भएको अवस्था छ । संघको चुनाव लड्न जिल्लाको वातावरण राम्रो हुनुपर्छ । त्यस्तो वातावरण मैले मेरो जिल्लामा बनाएको छु । हाम्रो पार्टीको संगठन जिल्लामा बलियो रहेको छ । यस्तो माहोल बनेको कारण पनि जितका लागि म उठिदिए हुन्थ्यो भनेर जिल्लाका साथीहरुले भनिरहनुभएको हो ।

-गठबन्धनमार्फत तपाईं अन्यायमा पनि पर्नुभयो भन्ने कुरा छ नि ?

न्याय र अन्याय भन्दा पनि गठबन्धनमा भएको सहमति कार्यान्वयन भएन भन्ने कुरा हो । समाजवादीले गठबन्धनको भावना र मर्ममा काम गरेन भन्ने पनि हो । सहमति अनुरुप काम नभएकोले आगामी निर्वाचनमा समाजवादीले यसको परिणाम पनि भोग्छ जस्तो मलाई लागेको छ ।

-यसले त गठबन्धनलाई पनि असर पर्ला नि त ?

समाजवादीले गठबन्धनमा आएर ठुलो लाभ लिइसकेको छ । तर, उसले जनाधार बनाउने कुरामा र जनताको मुद्दामा काम गरेको छैन । यसर्थ उसले पाउने सिट संख्या नगण्य हुन्छ भन्ने मलाई लागेको छ । समाजवादीले हैसियतभन्दा धेरै नै पाइसकेको यथार्थ कुरा हो । उसले आफ्नो जनाधारभन्दा ठूलो मुख बनाएमा गठबन्धनमा रहँदैन पनि होला भन्ने मलाई लागेको छ । उहाँहरुले आफूले पाउनेभन्दा धेरै खेजेमा उहाँहरुसँग गठबन्धन नरहन पनि सक्छ ।

-समाजवादी कांग्रेससँगको गठबन्धनबाट बाहिरिने सम्भावना देख्नुहुन्छ ?

उहाँहरुको गतिविधिले त्यस्तो पनि देखाएको छ । उहाँहरुले आफ्नो जनाधारभन्दा बढी सिट खोज्नुभयो भने यस्तो हुन्छ नै । कसैले पनि आफूले पाउनेभन्दा धेरै खोज्नुहुँदैन भन्ने कुरा हो । समाजवादीका धेरै नेताहरु एमालेमै फर्किन लागेको भित्री सूचना पनि आएको छ । पार्टीको भविष्य नै अन्योलमा रहेको बेला उहाँहरुले आवश्यकताभन्दा बढी कुराहरु खोजिरहेकोले यस्तो भनेको हो । समाजवादीले गठबन्धनको विश्वाससँग काम गरिरहेको पनि छैन । तसर्थ माओवादी र अन्य दलसँगको गठबन्धन बलियो र भरपर्दो देखिएको छ भन्न सकिन्छ । कांग्रेस र अरु पार्टीले दिएको सिट लिएर उहाँहरु जानुभयो भने पार्टीको अस्तित्व रहनेछ नभए उहाँहरु गठबन्धनमा अटाउनुहुन्न । समाजवादीलाई पार्टीको भविष्य नै थाहा नभएको बेला उहाँहरुले ठूलो मुख नबनाउँदा राम्रो हुन्छ भन्ने सुझाव दिन चाहन्छु ।

-अरु दल पनि गठबन्धनमा आउने सम्भावना देख्नुभएको छ ?

बाबुराम भट्टराई गठबन्धनमा आउने कुरा गरिरहनुभएको छ । जसपा र माओवादी लगायत पार्टीहरु छँदैछन् । उहाँहरुले हिजो सरकार बनाउने बेला दिएको साथ र सहयोग पनि हामीले बिर्सन हुँदैन ।

-अन्तिममा के भन्न चाहानुहुन्छ ?

लोकतन्त्र, संघीय गणतन्त्र र पहिचान सहितको संघीयता हामीले जोगाउनुपर्छ । हिजो विभेद भएका कारण यस्तो व्यवस्था आएको कारण यसलाई फलाउन फूलाउन हामी लाग्नुपर्छ । यसैबाट वर्ग र समाजको हित हुन्छ । यो व्यवस्थालाई बलियो बनाउन निर्वाचनलाई विश्वसनीय, धाँधलीरहित र पारदर्शी बनाउनु हामी सबैको दायित्व हो । सरकार पनि यही दिशामा लागेको छ ।

सञ्चार माध्यमले पनि जनताको वास्तविक अवस्थाको उजागर गरिदिने काम गर्नुपर्छ । आगामी निर्वाचनबाट देशको व्यवस्थालाई बलियो बनाउने जनप्रतिनिधिहरु निर्वाचित हुनुपर्छ । हामीले व्यवस्थामा केही कमजोरी भएमा तिनको सुधार गर्ने काम पनि गर्दै जानुपर्छ । राष्ट्रिय सभा पनि समावेशी, समानुपातिक र सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी बनाउनुपर्छ जस्तो लाग्छ । संविधानमा भएका कमीकमजोरी पनि संशोधन गरी व्यवस्थाप्रति भरोसा जगाउने गरी काम गर्नुपर्छ भन्न चाहान्छु ।