महेन्द्रनगर – विसं २०२६ मा सिकार आरक्षका रुपमा संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले आइपुग्दा बाघ संरक्षणमा अब्बल सावित भएको छ ।


ADVERTISEMENT


बाघको राष्ट्रिय गणनामा बाघको घनत्व बढाउँदै सन् २०२२ को गणनामा यहाँ बाघको सङ्ख्या दोब्बरले बढेको छ । कञ्चनपुरमा तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भारतसित पनि जोडिएको छ । सन् २०१८ को राष्ट्रिय बाघ गणनामा यहाँ १६ वटा पाटे बाघ रहेका थिए ।


ADVERTISEMENT

# # #


सन् २०२२ को गणनामा यहाँ पोथी र भाले गरेर बाघको सङ्ख्या ३६ पुगेपछि वन पर्यावरणका क्षेत्रमा शुक्लाफाँटाको चर्चा चुलिएको छ । विसं २०३२ मा एकसय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा निकुञ्जको पूर्वतर्फको एकसय ५० वर्गकिलोमिटर क्षेत्र विस्तार गरी निकुञ्ज घोषणा गरिएको हो ।

विसं २०७३ फागुनमा राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भएको शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रुपमा पनि परिचयन बनाएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए।

“नयाँ एमटिवान वैज्ञानिक विधिबाट बाघ गणना गरिएको हो”, प्रमुख संरक्षण अधिकृत मेहताले भने, “उहिले सिकार आरक्ष भए पनि अहिले बाघ संरक्षणमा अब्बल भएका छौँ ।” बाघका लागि आहारा प्रजातिको उचित प्रबन्ध, चोरीसिकारी नियन्त्रण र मध्यवर्ती क्षेत्र र स्थानीय निकायको सहयोग एवं संरक्षणप्रतिको सकारात्मक भूमिकाले बाघको सङ्ख्या बढेको उनको भनाइ छ ।

निकुञ्जका अनुसार अहिले निकुञ्जभित्रको चौधर खोलाको पश्चिमतर्फको भागमा बाघ बढी सङ्ख्यामा रहेका छन् । मुलुकमै पर्यटक आवागमन कम हुने शुक्लाफाँटामा बाघको सङ्ख्या दोब्बरले बढेसँगै यहाँ अवलोकन गर्ने बढी आउनेमा आशावादी छन् ।

शुक्लाफाँटामा सन् २००२ मा २६, सन् २००५ मा १८, २००८ मा ८ र २०१३ मा १७ वटा पाटे बाघ रहेका थिए । “राष्ट्रिय गणनासँगै बेलाबेलामा हामी दातृ निकायको सहयोगमा पनि यहाँ बाघको अनुगमन गरिरहेकै हुन्छौँ”, उनले भने, “आहारा प्रजाति प्रशस्त हुनुका साथै बाघको बासस्थान पनि उचित प्रबन्ध यहाँ छ ।”

यहाँ मानव–वन्यजन्तु द्वन्द्व अन्तको भन्दा कम रहे पनि जङ्गली हात्तीको आतङ्क भने बेलाबेला हुने गरेको छ । एकसय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान रहेको शुक्लाफाँटामा विश्वमै सबैभन्दा ठूलो बाह्रसिङ्गाको झुण्ड अवलोकनसमेत गर्न सहजै पाइन्छ । रासस