गलेश्वर – म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको एउटा गाउँका बासिन्दा खानेपानीको अभावमा विगत दुई महिनादेखि काकाकुलको नियति भोग्न बाध्य भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा रहेका २८ धारामा गत जेठ अन्तिम सातादेखि पानी नआएपछि स्थानीय खोला र कुवाको दुषित पानी पिउन बाध्य भएका हुन् ।


ADVERTISEMENT


जेठ २८ गते मरुवा र उपल्लो खन्ना क्षेत्रबाट खसेको पहिरो र बाँगे छहरोमा आएको बाढीले खानेपानीको पाइप लाइन र दुधेखोलाको मुहान् बगाइदिएपछि बगरफाँटमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् । पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि नयाँ पाइप हालेर केही दिन पानी सञ्चालन गरिएको भए पनि पुनः असार पहिलो हप्ता दुधेखोलाको बाढीले पानीको मुहान र ट्याङ्कीमा क्षति पुर्‍याएपछि यहाँका दुई सय आठ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।


ADVERTISEMENT

# # #


गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका ललितबहादुर कार्कीले बताए ।

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा दुई महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् । विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो ।

५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढीपहिराले पाइपलाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएको थियो ।

बगरफाँट खानेपानी तथा सरसरफाइ आयोजनाका हेरालु हरि कार्कीले असोज लागेपछि मात्र नियमितरुपमा पानी सञ्चालन गर्न सकिने र त्यसअघि बाढीपहिराको जोखिम रहने हुँदा नियमित पानी सञ्चालन गर्न कठिन हुने बताए ।

खानेपानीको समस्याका कारण बगरफाँटको दुई सय १४ घरधुरीका एक हजार दुई सय भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् । खोला र कुवाको प्रदूषित पानी खाएकै कारण यहाँका बालबालिका र वृद्धवृद्धामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएका छन् । रासस