काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकन च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले नेपाल भित्र्याएको बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।
उनले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा।बाबुराम भट्टराई र पुष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताए।
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको पनि उनले उल्लेख गरे। उनले एसपीपीले प्रकारान्तमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरिएको जानकारी दिए।
महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिबद्ध रहेको बताएको भन्दै नेपाली कांग्रेस ‘एक चीन नीति’मा अडिग रहने स्पष्ट पारे।
उनले भने, ‘हामीले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौता एमसीसी सरकारमा हुँदा र नहुँदा एउटै मतमा छौं। यो प्रारम्भ नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको नेतृत्वमा हो। अझ माधव नेपालको बेलामा प्रारम्भ भएर झलनाथ खनाल हुँदै, बाबुराम भट्टराई, पुष्पकमल दाहाल हुँदै यहाँसम्म आइपुगेको हो।’
महामन्त्री थापाले आगामी निर्वाचन जितेपछि सरकारले के गर्छ भन्ने योजना बनाउन अपरिहार्य रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री वा सरकारले काम गर्न सकेन भनेर अब पनि काम नगर्ने छुट नरहेको उनको भनाइ छ।