काठमाडौँ – नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा नेता कार्यकर्ता र शुभचिन्तकको घुइँचो लागेको छ ।


ADVERTISEMENT


कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म सानेपास्थित विपी स्मृत भवनको प्राङ्गणमा राखिएको छ । जहाँ उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुले भरिएको छ ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दिवङ्गत गिरीको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा तथा माला ओढाएर श्रद्धाञ्जली दिएका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत काँग्रेस पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र नेता कार्यकर्ताहरुले गिरीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीले पनि सानेपा पुगेर स्व. नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुसाल, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वामी आनन्द अरुण, राप्रपाका नेता पशुपति शमशेर राणा लगायतले पनि गिरीको पार्थिव शरिरमा माला लगाएर श्रद्धाञ्जली दिएका छन् ।

नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व थिए । उनको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको थियो ।

गिरीको आजै पशुपति आर्यघाटमा उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम छ ।

सबै तस्बिर : रासस