काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलू टोली केन्याले नेपालमाथि पहिलो जित निकालेको छ । केन्याले नेपाललाई शुक्रबार १८ रनले हराएको हो ।


ADVERTISEMENT


केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि आरिफ शेखले २५ रन बनाए । रनआउट हुनुअघि उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे । यस्तै रोहित पौडेल र आदिल आलमले समान २०–२० रनको योगदान दिए भने पवन सर्राफले १९ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

केन्याका लागि विराज पटेल, इम्यानुयल बन्डी र लुकास ओलउचले समान २–२ विकेट हात पारे भने इउजेन ओचिन र नेहेमिया ओदिहाम्बोले १–१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । सोक्रममा उनले २५ बल खेल्दा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै नेहेमिहा ओदिहाम्बोले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३ चौका र २ छक्काको मदतमा ३१ रन जोडे । यस्तै इरफान करिमले २२ तथा सचिन भुडियाले १४ रनको योगदान दिए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए । त्यसक्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए भने दीपेन्द्रले ३ ओभरमा १६ रन दिए । यस्तै करण केसीले २ विकेट लिँदा पवन सर्राफले १ विकेट हात पारे ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले केन्यामाथि ५ विकेटको जित हात पारेको थियो । नेपालले केन्यासँग ५ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छ ।