खोटाङ – नेकपा एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगालले प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र प्रदेश ‘ख’ बाट उम्मेदवारी दिने भएका छन्।
आगामी मंसिर ४ गते एकैसाथ हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेश ‘ख’ बाट दंगालको निर्विकल्प उम्मेदवारी पर्ने देखिएको हो। एमालेको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका दंगाल एमालेबाट त्यस क्षेत्रको एक्लो उम्मेदवार भएको एमालेका एक नेताले बताए, ‘उनी निर्विकल्प उम्मेदवार नै भन्दा फरक पर्दैन।’
यता, निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा एमालेका नेता पिके राई, कर्ण घले, खगेन्द्र राई, देबविक्रम राई आकाङ्क्षी छन् । यस्तै, प्रतिनिधिसभा निर्वाचनमा नेता विशाल भट्टराई, उषाकला राई, रमेशकुमार पौडेल र पिके राई आकाङ्क्षी देखिएको श्रोतको दाबी छ।
दंगालको परिचय
तत्कालीन बतासे गाविस तथा हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा २०२७ साल चैत १४ गते जन्मिएका दंगालले जनता माध्यमिक विद्यालय बतासेबाट २०४५ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका हुन्।
आर्दश बहुमुखी क्याम्पस बिराटनगरबाट उच्च शिक्षाको सुरुवात गरेका दंगाल अनेरास्ववियुको एकताको पाँचौ प्रारम्भिक कमिटी सचिव बनेका थिए। २०४६ सालदेखि अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका उनी पार्टी अर्धभूमिगत हुँदा नेकपा मालेको दिक्तेल कमिटी सचिव भए। त्यसपछि अखिलको जिल्ला कमिटीमा काम गरे।
खोटाङ–विराटनगर सम्पर्क मञ्चको अध्यक्ष भएका दंगालले १० नम्बर इलाकाको सचिव तथा क्षेत्रीय समन्वय कमिटी सचिवको जिम्मेवारी सम्हाले। २०५४ सालयता जिल्ला कमिटीमा लगातार काम गरेका दंगाल एमाले विभाजन हुंदा एमालेतर्फ ४/५ जना मात्रै रहेको जिल्ला सदस्य मध्येमा पर्ने नेता हुन्।