भरतपुर – नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७८ असोज १७ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिम दोस्रो र तेस्रो समूहको बिहीबार  शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्‍न भएको छ ।


ADVERTISEMENT


समारोहमा प्रमुख   महानिरीक्षक भण्डारीले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरूलाई पुरस्कार वितरण गरे । उनले  निर्देशनको क्रममा दीक्षित प्रशिक्षार्थीहरूले  समारोहमा लिएको सपथले मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित हुनुका साथै आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित समेत भएको कुरामा पूर्ण विश्‍वस्त रहेको बताए ।


ADVERTISEMENT

# # #


यसका साथै उनले साथै कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्र कानूनको शासन स्थापना हुन सक्ने भएकाले कानून कार्यान्वयन गर्ने क्रममा मानव अधिकारको संरक्षण गर्न संवेदनशील हुन  आधारभूत तालिमले ज्ञान र सीप प्रदान गरेको कुरामा विश्वस्त रहेको उल्लेख गरे ।

सम्बोधनकै क्रममा महानिरीक्षक भण्डारीले  व्यावसायिक जीवनमा सामना गर्नु पर्ने विषयहरु निकै संवेदनशील एवं जटिल रहेकोतर्फ इंगित गर्दै आईपर्ने चुनौतीहरुलाई ईमान्दारिता, निष्पक्षता र व्यवसायिक भएर सामना गर्ने कुरामा समेत विश्वस्त रहेको बताए ।

उनले कार्यक्षेत्रमा उच्च मनोबलकासाथ संगठनले अख्तियार गरेको नीति तथा कानून प्रदत्त अधिकारहरूलाई निर्धक्कसाथ कार्यान्वयन गर्न निर्देशन समेत दिए ।  उनले आफ्ना सन्ततिलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा समर्पित हुन मार्ग दर्शन तथा प्रेरणा प्रदान गर्ने अभिभावकहरु प्रति हार्दिक आभारसमेत व्यक्त गरे ।

समारोहमा  शिक्षालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गरे ।   तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी निरीक्षक ओम प्रकाश पुनले प्रस्तुत गरे ।

उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरे।

२१२ जना प्रशिक्षार्थीहरू दीक्षित  प्रहरी जवान आधारभूत तालिम दोस्रो र तेस्रो समूहमा सर्वप्रथम तथा कवाजतर्फ प्रथम प्रहरी जवान रूद्र श्रेष्ठ, सर्वद्वितीय प्रहरी जवान मदन तामाङ, सर्वतृतीय तथा आन्तरि तर्फ प्रथम प्रहरी जवान प्रदिप तामाङ, शारीरिक व्यायामतर्फ प्रथम प्रहरी जवान राजिव कंडेल, चाँदमारीतर्फ प्रथम प्रहरी जवान शत्रुधन राम र प्रहरी युक्ति तथा कारबाही र्फ प्रथम प्रहरी जवान शंखर राई भएका छन् ।

दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनी कुमार पोखरेल, जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, जिल्ला सुरक्षा समितिका सदस्यहरू, जनप्रतिनिधिहरू, भरतपुर अस्पतालका मेसु तथा चितवन मेडिकल कलेजका चेयर पर्सन, पत्रकारहरु, सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरू, दीक्षित भई जाने प्रशिक्षार्थीहरूको अभिभावकहरू तथा अन्य आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको थियो ।