काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा घरेलू टोली केन्याले नेपाललाई १०२ रनको सामान्य चुनौती दिएको छ ।


ADVERTISEMENT


केन्याको नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ घरेलू टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो । केन्याका लागि लुकास ओलाउचले सर्वाधिक ३३ रन हाने । उनले १८ बलमा ३ चौका र ३ छक्का ठोके ।


ADVERTISEMENT

# # #


यस्तै कोलिन्स ओवुयाले ३० बलमा २ चौकासहित २० रन बनाउँदा कप्तान सेम गोचेले १० बलमा १ छक्कासहित १३ रनको योगदान दिए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एकैखेलमा ५ विकेट लिएका उनले ४ ओभर बलिङ गर्दा ९ रन मात्रै खर्चिए ।

यस्तै मोहम्मद आदिल आलमले २ तथा शाहव आलम र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । यसअघिका तीनमध्ये पहिलो र तेस्रो खेलमा ५ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा केन्यासँग १८ रनले हारेको थियो ।

नेपाल र केन्याबीच ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने तालिका छ ।