काठमाडौँ – ऐतिहासिक राजधानी नुवाकोटलाई ३ नं प्रदेशकाको राजधानी बनाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता नुवाकोटका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् ।


ADVERTISEMENT


नेकपा(एमाले) र नेपाली काँग्रेसका उम्मदेवारले आफ्नो चुनावी प्रतिबद्धतामा नै नुवाकोटलाई बनाउने बताएका थिए भने एमाले प्रदेशसभा सदस्य २ (क) केशवराज पाण्डेले आफ्नो चुनावी घोषणापत्रमा त्यसलाई उल्लेख गरेका थिए ।


ADVERTISEMENT

# # #


नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजयपछि यसलाई मुकाम बनाएका थिए भने विसं १८५५ तिर गीर्वाणयुद्धविक्रम शाहका पालामा राजधानी बनाइएको थियो । हालसालै चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरका राजनीतिक नेताहरुले ती क्षेत्रलाई ३ नं प्रदेशको राजधानी बनाउने विचार व्यक्त गरेका थिए ।

नुवाकोट प्रतिनिधिसभा–२ बाट नवनिर्वाचित नारायणप्रसाद खतिवडाले चुनावी प्रतिबद्धतानुरुप नुवाकोटलाई प्रदेश राजधानी बनाउन सबै क्षेत्रबाट आवाज उठाइने बताए । प्रदेशसभा १ (ख) सदस्य बद्री मैनालीले आफ्नै पहलमा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गरिएको जिकिर गर्दै यसलाई सशक्त ढङ्गले उठाइने अठोट व्यक्त गरे ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा पनि नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातका दृष्टिले उपयुक्त हुने बताउँछन् ।

जिल्लामा प्रशस्त बेंसी र टारहरु भएको, त्रिशूली, तादी र लिखु जस्ता नदीहरु रहेको, हाल १५० मेगावाट विद्युत उत्पादन भइरहेको र १५० मेगावाट थप बिजुली उत्पादन गराउन ‘पाइपलाइन’मा रहेको, केरुङ मार्ग, पासाङल्हामु मार्ग, बालाजु–त्रिशूली, थानकोट–गल्छी र टोखा–विदुर मार्ग प्रयोगमा आइरहेको, नुवाकोट भएर मध्यपहाडी मार्ग बनिरहेको र टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेकाले नुवाकोट सबैतिरबाट पायक पर्ने उदाहरण दिए ।

“केन्द्रीय राजधानीसँग जोडिएकाले पनि यसको सम्भावना उत्तिकै छ” सापकोटाले भने, “जिल्लाका सबै दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ र बुद्धिजीवी पनि यसकै पक्षमा छन् । ”

प्रतिनिधिसभा सदस्य खतिवडाले जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरिने, कृषि र स्वरोजगार विकास गरिने, चीन र भारतको पर्यटकीयस्थल बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

वामपन्थी सरकार बनेपछि चीनको सहयोगमा नुवाकोट भएरै चीनबाट पोखरा, लुम्बिनी र काठमाडौँ जान सकिने स्थिति आउने भएकाले त्यसबाट फाइदा लिनुपर्ने उनले बताए । “मेरो सोचाइ र योजना त नुवाकोटमा बौद्ध केन्द्र बनाई चीनका बौद्धधर्मालम्बीलाई एक दुई दिन बस्न मिल्ने वातावरण बनाउने रहेको छ”एमाले नुवाकोटका अध्यक्ष पनि रहेका खतिवडाले भने।

प्रदेशसभा सदस्य मैनाली नुवाकोटका पीपलटार वा चौघडामा औद्योगिक क्षेत्र बनाउन र दरबार क्षेत्र, फिकुरी, दुप्चेश्वर, वेत्रावतीलाई पर्यटकीयस्थल बनाउन आफ्नो पहल रहने सुनाए ।

व्यवसायी तथा पत्रकार सापकोटा चीनबाट आउने रेललाई खाली नपठाउन जिल्लामा निर्यातयोग्य वस्तुको उत्पादनमा जोड दिन्छन् । उनले नुवाकोट हावापानी र सम्पदाका दृष्टिले उपयुक्त भएको र तामाङ, नेवार, गुरुङ, मगर, शेर्पा, मुसलमान आदि जातिको बस्ती भएकाले समृद्ध रहेको बताउँदै त्यहाँ जलयात्रा, पदयात्रा र प्याराग्लाइडिङको पनि उत्तिकै सम्भावना भएको जानकारी दिए ।

“नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाई त्रिदेशीय राजमार्गबाट फाइदा लिने परिस्थिति निर्माण गर्न एमालेसहितको वामपन्थी सरकारलाई हामी झक्झकाउनेछौँ,” नवनिर्वाचित सांसदहरुले भने । श्याम रिमाल/रासस