झापा – नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले कांग्रेसको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए ।


ADVERTISEMENT

# # #


‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन्’ झापाबाट निर्वाचित सबै सांसदहरुलाई छेउमा राखेर ओलीले भने, ‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्छौं ।’

आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकिएको भन्दै ओलीले देश अब सहज ढंगले अघि बढ्ने बताए । उनले अब राजनीति होइन विकासका कुरा अघि बढ्न बताए ।

सरकार सन्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने उनले प्रष्ट पारे । ‘अब राजनीतिका कुरा होइन विकासका कुरा गर्छौं । हामीले बहुमत ल्याउनेमात्र सोचेको थिएनौं, बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ एमाले अध्यक्ष ओलीले भने(त्यसैले साम्प्रदायिक विद्धेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र सम्बृद्धिको बाटोमा मुलुलाई लैजान्छौं ।’

उनले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोग लगायत राज्यका सबै संयन्त्रहरु धन्यवादको पात्र रहेको रहेको बताए । उनले मुलुकलाई विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प नरहेको भन्दै सबैलाई सम्मानपूर्ण व्यवहार हुने प्रष्ट पारे ।
झापामा आफ्नो नेतृत्वको वामपन्थी गठबन्धनलाई जिताउन जनता समक्ष गरेका बाचा पूरा हुने आश्वासन समेत उनले दिए ।

सबैभन्दा धेरै मत पाएर बिजयी गराएकोमा उनले मतदातालाई धन्यावद दिँदै भने, ‘मैले कतिपय निर्वाचन क्षेत्रमा चुनावअघि जमानी बसेको छ,त्यो जमानी पनि पूरा गर्नेछु ।’