काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको र आफुलाई दुःख लागेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिमा तेश्रो दिनको बयान दिने क्रममा जबराले साँढे आठ बर्षसम्म उक्त मुद्धामा राय लिदाँ पिडित परिवारमाथि अन्याय नै भएको आफुलाई लागेको र उक्त मुद्दा फैसलामा प्रायश्चित्त गरेको बताएका हुन् ।
उनले उक्त मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने स्पष्ट पारे । उनले यो मुद्धाको सम्पूर्ण जिम्मेवारी आफुले लिने र अन्य न्यायाधीशलाई आरोप नलगाउन आग्रह गरे । जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको र उनका बच्चाहरुलाई ख्याल गरेर कैद घटाउने स्वविवेकिय अधिकार प्रयोग गरेको उनको भनाई छ ।
त्यस्तै जवराले संवैधानिक अंगका पदाधिकारी नियुक्तिमा सम्बन्धमा परेका रिट निवेदनहरुमा एक बर्षसम्म पनि प्रारम्भिक सुनुवाई नगरेको आरोप अस्वीकार गरे । संसद बिघटन र संवैधानिक नियुक्तीको मुद्दा संगसंगै परेकाले संसद बिघटनको मुद्धालाइ प्राथमिकता दिएको उनले जनाए ।
बैठकपछि समिति सदस्य मीन विश्वकर्माले आइतबार बैठकको कार्यबिधि संशोधन गरेको जानकारी दिए । अब प्रश्न सोध्ने र लिखित जवाफ लिएर प्रतिप्रश्न गर्ने उनले बताए । आइतबार पाँच वटा प्रश्न सोधिएको र अर्को बैठक भाद्र २५ गते बस्ने विश्वकर्माको भनाई छ ।
समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको थियो । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।