– कुलचन्द्र वाग्ले


ADVERTISEMENT


आज वीपी कोइराला जन्मनुभएको दिन । यो दिन नेपाली मुक्त चेतनाको लागि नवीन शिशु दिन । एकसय नौ वर्षअघि, यो त्यस्तो दिन हो–भदौ २४ गते, जुन दिन नेपाली धर्तीमा जनताको लागि विद्रोही दिनकै जन्म भएको हो । अर्थात् वीपी जन्मेको त्यही दिन विद्रोही दिनको उदय समेत भयो ।


ADVERTISEMENT

# # #


महामना वीपी कोइराला । साहित्यमा पुकार्दा विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा वीपी । बहुआयामिक चिन्तनले पूर्ण वीपीको तीनओटा व्यक्तित्व पहिचान र प्रसिद्धीमा स्थापित छन् । राजनीतिज्ञ वीपी, साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र समाजवादी नेता वीपी कोइराला ।

सान्दाजु अर्थात् देहधारी वीपीलाई भेट्दा र भन्दा वा बोलाउँदा धेरैले सान्दाजु सम्बोधन गर्थें । पारिवारिक नाताले सम्बोधित सान्दाजु देशभरका काँग्रेस कार्यकर्ताको लागि समेत सम्मान सम्बोधनको सूचक बनेको हो । अहिले धेरैले वा नयाँ पुस्ताले कति थाहा पाएका होलान् ? वीपी धेरै विषयमा पढिनुपर्ने विचार हो ।

राजनीति कर्ममा लाग्न प्रेरित पुस्ताले वीपीको नाम त सुनेका पक्कै होलान् तर पढेका कति होलान् ? त्यसमा बुझ्ने कति ? नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनतिर एउटा टिप्पणी निकै चर्चित बन्यो काँग्रेस वृत्तमा । सत्य झैं त लाग्दैन तर यो टिप्पणीले एउटा गम्भीर सत्य चाहिं उद्घाटित गर्न खोजेको छ ।

महाधिवेशनको सिलसिलामा केही युवा नेपाली काँग्रेसको कार्यालय वीपी स्मृति भवन सानेपामा पुगेछन् । तीमध्ये कुनै युवाले कोठामा वीपीसमेत लहरै टाँगिएका नेताहरूको तस्वीरतिर आँखा डुलाउँदै–‘ए,यी बड्डा(बूढा) पनि हाम्रै पार्टीका रहेछन्, हगि ?’ भनेर साथीलाई सुनाएछन् । यिनीहरू काँग्रेसका युवा प्रतिनिधि थिए रे ।

यस्तो टिप्पणी काँग्रेसलाई खिसिट्युरी गर्न कसैले गडेको हुनसक्छ । काँग्रेस कार्यकर्ताको अज्ञानतालाई व्यङ्ग्य गर्न खोजेको पनि होला । जे होस्, तर यो टिप्पणीले नेपाली काँग्रेसको अवस्था, कार्यकर्तामा अध्ययन वा जानकारीको कमी र राजनीतिकर्मीको खस्किदो ओजको तस्वीरको सचित्र पाटो खोलेको चाहिं लाग्छ । आंशिक नै भए पनि दलहरूभित्रको चित्रमा यस्तो टिप्पणीको अंश सत्य हो ।

मेरो लागि त वीपी अगम्य हो, बुझाइको अनन्त । उहाँलाई जननायक भनियो । महामानव पुकारियो, भनिदै छ । वीपीले जनताबाट प्राप्त गर्नुभएको यस्ता विशेषण अत्यन्त सार्थक लाग्छन् तर मलाई चाहिं मनपर्ने महामना हो । महामना वीपी कोइराला ।

किन मन प¥यो ? यसअघि एउटा प्रसङ्ग कोरौँ । कुनै सन्दर्भमा पकेटमा अटाउने दुई पन्ने रङ्गीन चिनारी छापेको थिएँ । जसमा श्रद्धेय सान्दाजु, वीपीको तस्वीरसमेत थियो । तस्वीर मुनी ‘महामना’ वीपी लेखेको देखेपछि एकजना पीएचडी डा.साहेबले फोन गर्नुभयो ।

सोध्नुभयो–महामानव हुनुपर्नेमा महामना भएछ, किन ? गल्ती भयो कि ? महामना लेख्नुको बुझाइ मैले व्यक्त गरें । चित्त बुझेको शैलीमा उहाँ सुनिनुभयो । महामना रोज्न थालेको सन्दर्भ पनि यहाँ जोडौँ ?

म लेख्न सिकारु । कहिले जननायक त कहिले महामानव र महामना लेख्न थालें । कुनै बेला त पाएजति विशेषण थपेर आफ्नो अनुग्रह वीपीप्रति थोपर्थें । महामना लेख्न सिकेको दाइ नरहरि आचार्यले छाप्नुभएको किताब पढेपछि हो । वीपी विशेषता महामना लेख्न मन परेर अधिक रोजेको चाहिं प्राज्ञ अभि सुवेदीको लेख पढेपछि हो । उहाँ कान्तिपुर दैनिकमा लेख्नुहुन्थ्यो, लेख्नुहुन्छ ।

प्राज्ञ सुवेदीले बेलायत, अमेरिका लगायत देशमा पुगेर दिइएका प्रायः साहित्यिक प्रवचनमा वीपीको उद्धरण गरेको संस्मरण कान्तिपुरमा लेख्नुभएको छ । (दि काठमाण्डु पोस्टमा समेत) ती लेख पढ्दा उहाँले विदेशका उच्च मञ्चमा उद्धरणयोग्य पात्र वीपीलाई ठम्याउनु भएको मैले बुझें ।

हो, प्राज्ञ सुवेदीले नै कान्तिपुरको एउटा लेखमा वीपीलाई जननायक, महामानव र महामना भन्नु अत्यन्त सान्दर्भिक बताउनु भएको छ । तर महामनाको व्याख्याले मेरो घैंटामा घाम छिरेको हो । जननायक वीपी कोइराला ट्रस्टले सम्मानित गर्दा पनि सम्मानीत सुवेदीले दिनुभएको मन्तव्यमा यस्तै आशय व्यक्त भएको थियो ।

उहाँले लेख्नुभयो र भन्नुभयो– “यति सारा विषयमा साधिकार आफूलाई मुखर व्यक्त र प्रस्तुत गर्नसक्ने व्यक्तित्व हो वीपी कोइराला । यो समयको पहिलो व्यक्ति ।” प्राज्ञ सुवेदीको भनाइको मर्म यही हो ।

“महामना । महान् मन । जहाँ अनन्तः ज्ञान राशि छ, विचार र चिन्तन छ । त्यसमा उद्देश्य छ ।” विशेषज्ञ अध्येता सुवेदीले राजनेता वीपीलाई ‘बहु व्यक्तित्व’ अभिव्यक्त गर्नुभएको हो । मैले यस्तै बुझें । यो मेरो अति समर्पण हो कि, अल्पज्ञता भेउ पाएको छैन ।

“थुप्रै गम्भीर विषयमा गहिरो अध्ययनसहित साधिकार गम्भीर विचार व्यक्त गर्नसक्ने वीपीलाई यही कारण ‘महामना’ सार्थक विशेषण हो ।” प्राज्ञ सुवेदीको यही मर्मलाई रोजें र महामना लेख्न मन पराएँ । ती डा.साहेबलाई पनि यही उत्तर सुनाएको थिएँ ।

महामना वीपीले समयलाई स्पर्श गर्नुभएको हो । आफ्नो समयलाई उहाँले आफ्नै पकटमा राख्न कोशिस गर्नुभयो । उहाँले बाल्नुभएको प्रजातान्त्रिक, समाजवादी चेतनाको उज्यालो अहिले पनि प्रदीप्त छ । हाम्रो विचार र विवेकमा प्रकाश दिइरहेछ ।

वीपी मानिस हो, यही कारण महामना । मानिसलाई देवत्वकरण गर्नु मानिसको महत्तालाई स्खलित पार्नु हो । प्राज्ञ सुवेदीले बुझाउनु भएको मर्म यही हो भन्ने लागेको छ ।

वीपीले लाखौँ लाख मानिसको विचारलाई स्पर्श गर्नुभएको छ । समयलाई स्पर्श दिएजस्तै । विवेकभन्दा पहिले विचारले विवेक पहिल्याउँछ । विचारले नै विवेकको पहिचान दिन्छ । विचार सर्वकालीन छ ।

जननायक वीपीले मेरो विचारलाई पनि स्पर्श दिनुभयो । बनारसको सारनाथ । सौभाग्य पिठ्युँलाई पनि स्पर्श दिनुभयो र हिडिराख्ने बाटो देखाउनु भयो सुम्सुम्याउँदै । विचार र व्यक्तित्वको गज्जब संयोजन महामना सान्दाजुमा अनन्त श्रद्धा, श्रद्धाञ्जलि ।


ADVERTISEMENT

#
#


(लेखक राष्ट्रय समाचार समिति(रासस)का पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार हुन्)

प्रतिकृया

प्रतिकृया