काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छिन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेको असरसम्बन्धी बिभिन्न प्रतिवेदन र सुझावहरुलाई आत्मसाथ गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताएकी हुन् ।
उनले जलवायु परिवर्तन सम्मेलनका क्रममा आएका सुझावहरुलाई समेत मध्यनजर गर्दै नेपालको पोजिसन पेपरलाई अन्तिम रुप दिइने उल्लेख गरिन् । मन्त्री चौधरीले कोप ३१ मा सहभागीताका लागि समावेशितालाई ध्यान दिइने बताइन् । कोप सम्मेलनमा भाग लिएर आइसकेपछि त्यसको समिक्षा र उपलव्धीको मापनका साथै फलोअपमा पनि काम गर्ने उनको भनाइ छ ।
त्यस्तै बैठकमा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले ३१ औँ कोपमा सहभागी हुन ३१ वटा कार्यबुँदा समेटेर प्रारम्भिक कार्ययोजना तयार पारेपनि भोटेकोसीको बाढी र क्षतिको घटनापछि पूर्वधार तथा जलवायुजन्य असरका थप मुद्दाहरूलाई एजेन्डामा समावेश गरिएको बताए । कोपका लागि नेपालको आधिकारिक ’कन्ट्री पोजिसन पेपर’ तयार भइसकेको जानकारी दिदै उनले राष्ट्रिय जलवायु सम्मेलनमा त्यसलाई सार्वजनिक गरिने उल्लेख गरे ।
नेपालको पोजिसन पेपरमा अनुकूलन, प्रविधि, वित्त र क्षमता अभिवृद्धि का विषयहरू समावेश गरिएको उहाले जानकारी दिए । त्यस्तै उनले यसपटक माउन्टेन एजेन्डालाई मुख्य विषय बनाउन औपचारिक रूपमा पेश गर्न लागिएको जनाए । भोटेकोसी घटनापछिको नयाँ निर्णयअनुसार सम्मेलनमा नेपालको आफ्नै पेभेलियन राखिने र पेभेलियनमार्फत भोटेकोसीलगायत जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायमाझ प्रदर्शनी गरिने ढकालले बताए ।



























