काठमाडौं – ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् । बागमती प्रदेश कार्य समितिको बैठकले भण्डारीलाई समानुपातिकमा सिफारिस गरेको हो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का बासिन्दा भण्डारी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् । भण्डारीलाई प्रदेश समितिले नै सिफारिस गरेपछि सम्भावित बन्द सूचीको बलियो दाबेदार बनेका छन् ।
सिन्धुपाल्चोकका खाडीचौरमा ५५ बेडको सिन्धु सदाबहार अस्पताल र सिन्धु सदाबहार नर्सिङ कलेज स्थापना गरेका भण्डारीले कोभिड संकटको बेला गाउँ गाउँमा स्वास्थ्य सामग्री पुर्याएका थिए । २०३५ सालमा सिन्धुवासीले पशुपति शम्सेरसँग मागेको स्वास्थ्य केन्द्र ३० वर्षपछि भण्डारी आफैँले पहल गरेर स्थापना गरेका हुन् ।
कोभिड उपचारका बेला पहिलो रोजाइका उत्कृष्ट अस्पताल बनेका कारण ह्याम्सका अध्यक्ष भण्डारीले अन्तर्राष्ट्रिय अवार्ड समेत पाएका छन् । स्वास्थ्य उपकरण व्यवसायी समेत रहेका कारण उनले पछिल्लो समय जिल्लामा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिरहेका छन् ।
प्रवल जनसेवाश्री पदक पाउने सिन्धुपाल्चोकका पहिलो व्यक्ति हुन् । उनले युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिसबाट विद्यावारिधीको उपाधी समेत पाएका थिए । भण्डारी पछिल्लो समयमा सामाजिक कामका कारण सिन्धुपाल्चोकमा स्थापित छन् ।