काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महशुस हुन थालेको बताएका छन् ।
मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महशुस हुन थालेको बताएका हुन् ।
उनले भने, ‘भौतिक रुपले हामी अहिले सुरक्षित छौँ, हामी माननीय, मन्त्री, प्रधानमन्त्री पनि भएका छौँ । तर, जीवनको आनान्दनुभूमि भनौँ वा जीवनबोध त्यतिबेला जुन गर्वका साथ हामीले आफ्नो जीवनको औचित्य र अर्थ परिभाषित गर्ने र अनुभूत गर्थ्यौँ, अहिले हामीलाई गाह्रो गरिराखेको छ, यो जीवनको सार्थकता, औचित्य र यसमा गर्वबोध गर्न गाह्रो भइरहेको छ । अहिले हामी लाखौँ, करोडौँ मानिसको बीचमा छौँ । तर, एक्लोएक्लो महसुस हुन्छ ।’
प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।
प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासंग सम्बन्धित हजारौं यथार्थमा आधारिक पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे । आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भूल्न नहुने उनको भनाई छ ।
प्रचण्डले युद्धमा सहभागिहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गरे ।