काठमाडौँ– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
आवासीय चिकित्सकलाई सेवा सुविधा दिने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले चिकित्सा आयोगद्वारा निर्धारित आठौ तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसंग माग गरेका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले न्यूनतम पारिश्रमिक नदिने तर आवासीय डाक्टरलाई काममा फर्कन निजी मेडिकल कलेजले दवाव दिएको बताए । उनले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक पाउने वातावरण नवनेसम्म आन्दोलन जारी राख्ने जनाए ।
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह सेवा दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय डाक्टरले आन्दोलन गरेका हुन् ।