काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल पुलिसले स्वर्ण पदक हात पारेको छ । टी–२० फर्म्याटको प्रतियोगिताको फाइनलमा शुक्रबार आर्मीलाई ८ विकेटले हराउँदै पुलिसले स्वर्ण कब्जा गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पानी परेपछि ८ ओभरमा घटाइएको खेलमा टस हारेपछि पहिले ब्याटिङ थालेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


पुलिसलाई स्वर्ण दिलाउने क्रममा ओपनरद्वय कुशल भुर्तल र सुनिल धमलाले विष्फोटक ब्याटिङ गर्दै पहिलो विकेटका लागि ५.३ ओभरमा ९२ रनको साझेदारी गरे । त्यसक्रममा १७ बलमै अर्धशतक बनाएका कुशल १९ बलमा ३ चौका र ६ छक्का ठोक्दै ५१ रनमा पेवेलियन फर्किए । यस्तै सुनिलले १७ बलमा २ चौका र ४ छक्काको मदतमा नटआउट ४२ रन बनाए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले ४ बलमा ४ रन बनाउँदा आरिफ शेखले आफ्नो पहिलो बलमै छक्का प्रहार गर्दै खेल टुंग्याए । बलिङतर्फ आर्मीका लागि सुसन भारी र जितेन्द्र मुखियाले समान १–१ विकेट लिए ।

यसअघि आर्मीको ब्याटिङतर्फ कप्तान विनोद भण्डारीले आक्रामक खेले । उनले १४ बलमा ३ चौका र ४ छक्का ठोक्दै ४० रनमा आउट भए । यस्तै रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८ रन, भीम सार्कीले ४ बलमा १ चौका र १ छक्कासहित ११ तथा कुशल मल्लले १३ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए ।

पुलिसका ललित राजवंशी र गुल्शन झाले समान २–२ विकेट लिए भने राशिद खान र दीपेन्द्रसिंह ऐरीका नाममा समान १–१ विकेट रह्यो ।