काठमाडौं-सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । पछिल्लो परिणाम अनुसार स्याङ्जा २ मा एमालेकी पद्माकुमारी अर्याल र कैलाली २ मा एमालेकै झपट रावल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । योसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ ।


ADVERTISEMENT


समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको भनिसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३७ सिट जितेको छ जसमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २२ सिट जितेको छ । बिजयकुमार गच्छदारको अग्रता कायमै रहेकाले उनले जितेमा कांग्रेसको २३ सिट हुनेछ ।त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।