बागलुङ – खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ मा पर्छ ।


ADVERTISEMENT


पालिका केन्द्र बोङ्गादोभानभन्दा नजिक रहेको हुँदा खुङ्खानी गाउँ केही सुगम छ तर नर्जाखानी निकै दुर्गममा छ । भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षालगायतका विकासका पूर्वाधार पनि कमै निर्माण भएका छन् । यस गाउँमा अहिलेसम्म माध्यमिक शिक्षाको पढाइ हुन सकेको छैन । नर्जाखानीका सयौँ विद्यार्थी माध्यमिक शिक्षाका लागि खुङ्खानी आउनुपर्ने बाध्यतामा छन् ।


ADVERTISEMENT

# # #


नर्जाखानीसँगै वडा नं ६ को पात्ले र भित्रिवन गाउँका विद्यार्थी पनि दैनिक छ घण्टा यात्रा गरेर माध्यमिक शिक्षा हासिल गरिरहेका छन् । उनीहरुले यो समस्या भोग्न थालेको वर्षौं भयो । नर्जाखानी, पात्ले र भित्रिवन गाउँका सयौँ बालबालिका गाउँमै रहेको विद्यालयबाट आधारभूत तहका पढाइ पूरा गरेपछि माध्यमिक शिक्षाका लागि वडा नं ५ खुङ्खानीमा रहेको शान्ति माविमा पुग्छन् ।

“स्कुल टाढा छ, बिहान चाँडै हिँडिएन भने हाजिर भेट्न पुगिन्न, यहाँबाट स्कुल जानआउनका लागि छ घण्टा लाग्छ, दैनिक हिँडेरै जानुपर्छ गाडी पनि खासै चल्दैन”, कक्षा १० मा अध्ययनरत विकास सिर्पालीले भने । उनले दैनिक छ घण्टा हिँड्दा थकाइ लाग्ने हुँदा सोचेअनुसारको पढाइ हुन नसकेको बताए। सिर्पालीले विद्यालय नजिकै कोठा लिएर बस्न सक्ने अवस्थासमेत नभएको सुनाउँदै आफूले दुई वर्षदेखि घरबाटै आवतजात गरी पढिरहेको बताए ।

“घरभन्दा स्कुल निकै टाढा छ, बिहान सबेरै उठेर हिँड्नुपर्छ, घर फर्किंदा राति हुन्छ, यसले गर्दा मैले सोचे जस्तो पढाइ हुन सकेको छैन, कमजोर भएको महसुस भएको छ”, उनले भने “कोठा लिएर बसौँ भने खर्च धान्न सक्ने अवस्था छैन, अरू साथीहरुसँग पढाइ प्रतिस्पर्धा गर्न पनि गाह्रो भयो, त्यति धेरै समय हिँड्दा थकाइ लाग्छ, थकाइ लागेको बेला पढ्न मन लाग्दैन, बिहान एकछिन घरको काम पनि गर्न परिहाल्यो, त्यसले गर्दा निकै समस्या छ, मलाई मात्रै होइन, यहाँका थुप्रै साथीहरु पनि यस्तै समस्यामा छन् ।”

सिर्पालीले बर्खाको समयमा आफूलाई झन् ठूलो समस्या हुने बताए । वर्षाका कारण खोलानाला बढ्ने र बाढी पहिराले बाटो नै बन्द गरिदिँदा विद्यालय पुग्नै समस्या हुने गरेको उहाँको भनाइ छ । बाढी पहिराका कारण कैयौँ दिन विद्यालय जानबाट समेत वञ्चित भएको उनको अनुभव छ ।

“अहिले बर्खाको समय छ, यो बेला त मरिन्छ कि बाँचिन्छ थाहै हुँदैन, बाटोघाटो बाढी पहिराले बन्द गरिदिन्छ, खोलानालाहरु बढेर वारपार गर्न नसकिने भएका छन्, पोहोर सालतिर त झन् पहिराले बाटो बन्द हुँदा धेरै दिन स्कुल गइएन”, उनले भने, “हिउँदमा पनि जाडोले हातखुट्टा कठ्याङ्ग्रिन्छन्, दुर्गममा भएर होला हाम्लाई निकै समस्या छ ।”

भित्रिवनकी पवित्रा घर्ती मगरले गाउँमा माध्यमिक शिक्षाका लागि विद्यालय नहुँदा अनेकौँ समस्याहरु भोग्नुपरेको बताइन्। उनी लामो दूरीमा विद्यालय हुँदा प्रभावकारीरूपमा पढाइ हुन नसकेको बताउँछिन्। “यति लामो दूरी हिँडेर पार गरेर स्कुल पुग्नुपर्छ, स्कुल पुग्दा थकाइले पढ्न मनै लाग्दैन, पढाइ प्रभावकारी नै हुन सकेको छैन, फेल भइन्छ कि भन्ने डर लाग्छ ।”

घर्ती मगरले गाउँ नजिकै रहेको विद्यालयमा आठ कक्षासम्म पढ्दा सहज भए पनि अहिले गाह्रो भएको सुनाउँछिन् । “आठ कक्षासम्म त गाउँकै स्कुलमा पढ्न पायौँ, दुःख थिएन, ९ बजे हिँडे पनि स्कुल पुगिन्थ्यो, अहिले ७ बजेभन्दा ढिला हिँडियो भने पहिलो पिरियड भेट्टाउन सकिँदैन, कक्षा ९ र १० पढ्न कि बोङ्गादोभान जानुपर्छ, कि खुङ्खानी नै जानुपर्छ, कि त पढ्नै छोड्नु पर्छ”, घर्तीले भनिन् ।

उनी सरकारले आफूहरु जस्ता दुर्गममा रहेका विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था गरिदिए पढ्न सहज हुने बताउँछिन् । “हामीहरु त निकै दुर्गम ठाउँमा छौँ, सरकारले हाम्लाई होस्टेलको व्यवस्था मिलाई दिने भए धेरै सहज हुन्थ्यो, हाम्रो पढाइ पनि राम्रो हुन्थ्यो होला, अरू साथीहरु जस्तै हामी पनि फस्ट, सेकेन्ड हुन्थ्यौँ होला ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नर्जाखानी क्षेत्रमा माध्यमिक तह सञ्चालनका लागि विद्यार्थी अपुग हुने र त्यसका लागि ठूलो बजेट चाहिने हुँदा अहिलेसम्म माध्यमिक तह सञ्चालन हुन नसकेको बताए । अध्यक्ष बुढा मगरले नर्जाखानीमा कक्षा ८ सम्म राम्रोसँग सञ्चालन भइरहेको भन्दै यस क्षेत्र भौगोलिक विकटता र कम जनसङ्ख्याका कारण माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरु खुङ्खानी आउनुपर्ने अवस्था रहेको बताए ।

“यहाँका विद्यार्थीलाई निकै समस्या छ, हामीले बुझेका छौँ, माध्यमिक तह सञ्चालन गर्न पनि फेरि उत्तिकै चुनौती पनि छ, हामीले यहाँका विद्यार्थीलाई सहजरूपमा शिक्षा दिन सकिन्छ भन्ने विषयमा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ, सहजरूपमा शिक्षा प्रदान गर्न योजनासमेत बनाइरहेका छौँ”, अध्यक्ष बुढा मगरले भने


ADVERTISEMENT

#
#


पात्ले गाउँमा कक्षा ३, भित्रिवनमा कक्षा ५ र नर्जाखानीमा कक्षा ८ सम्म पढाइ हुन्छ । नर्जाखानी गाउँका बालबालिकाले गाउँमै कक्षा १ देखि ८ सम्म अध्ययन सक्छन् भने भित्रिवन र पात्ले गाउँका बालबालिकाहरु नर्जाखानी आउनुपर्छ । पात्ले गाउँमा बालबालिकाले गाउँमा कक्षा ३ र भित्रिवनका बालबालिकाले कक्षा ५ उत्तीर्ण गरे भने त्यसमाथिको तहको अध्ययनका लागि नर्जाखानीमै पुग्छन् । भित्रिवनबाट नर्जाखानी आउन करिब ढेड घण्टा लाग्छ भने पात्ले गाउँबाट एक घण्टा लाग्छ । रासस

प्रतिकृया

प्रतिकृया