काठमाडौं – काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मदको मृत्यु भएको छ । गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए ।


ADVERTISEMENT

# # #


कागेश्वरी मनोहरा नगरपालिका  ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ । मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।

उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ । उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन् । तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन् ।

गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ । यसपछि बन्दुकधारीहरू भागेका थिए ।

घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ ।