जुम्ला – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला यही शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


दसैँका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए । नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने छ । उनले भने, “आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रकारको दालमा छुट दिएका छौँ ।”


ADVERTISEMENT

# # #


प्रमुख विष्टका अनुसार सहुलियत पसल सञ्चालनका लागि एक हजार दुई सय क्विन्टल चामल स्वीकृत भएको छ । बास्तमती चामल, अरुवा मोटो चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल, अरहरको दाल र मुसुरोको दालमा छुट दिइएको छ ।

नजिकिँदै गरेको दसैँमा जुम्लामा खाद्यान्न अभाव नहुने भएको छ । चालु आवमा जुम्लाका लागि छ हजार क्विन्टल चामल स्वीकृत भएको छ । हालसम्म एक हजार २० क्विन्टल चामलज ढुवानी भइसकेको विष्टले जानकारी दिए । दसैँ तिहारका लागि मात्रै नौ सय ७० क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।